७ पौष,धनुषा: जनकपुरधामका मधेशी युवाहरु आन्दोलित भएका छन् । शनिबार सम्पन्न एनपीएल खेल पश्चात काठमाडौंमा मधेशी समुदायका युवाहरु माथि कुटपिट भएको घटना प्रति विरोध जनाउँदै जनकपुरधामका मधेशी युवाहरुले जुलुस र नाराबाजी गरेका छन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापन पत्रमा विभिन्न पहाडी युवा समूह द्वारा काठमाडौंको त्रिवि गेट र परिसर वरपर मधेशी समुदायका युवा युवतीहरु माथि हातपात, कुटपिट, गालि गलौच जस्ता घटना प्रति सरकारले नेपालको संविधान र कानुन अनुसार यस्ता सम्प्रदायिक कार्यमा संलग्न व्यक्ति र समूह लाई कानुनी कारबाहीको माग गरिएको छ ।
साथै यस विषयमा कहिँकतै कसैको ध्यानाकर्षण भएन भने मधेशी युवा संघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिइएको छ ।
शनिबार सम्पन्न एनपीएलको खेलमा जनकपुर बोल्टस्ले जिते पश्चात मधेशी समुदायका युवाहरु माथि कुटपिट भईरहेको र केही युवा घाईते भई अस्पताल भर्ना भएको फोटो र भिडियो सार्वजनिक भएको थियो ।
यस घटना प्रति मधेशी आयोगले समेत ध्यानाकषर्ण गराउँदै प्रहरी प्रधान कार्यालय लाई पत्र पठाई घटनामा संलग्न समूहको पहिचान गरि दोषी लाई कारबाहीको लागि अनुरोध गरेको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्