रामेछाप । जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।
जिल्ला सुरक्षा समिति काभ्रेको आइतबार बसेको बैठकले बिपी राजमार्गको काभ्रेभञ्ज्याङ भकुण्डेवेशी हुँदै सिन्धुली तर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजे देखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गते देखि भदौ मसान्त सम्म यो व्यवस्था लागू हुनेछ । यात्रु र सवारी साधन लाई जोखिम कम गर्न भन्दै सबै सरोकारवाला लाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।यस अघि भदौ १५ गते राति सम्म रातको समयमा यातायात सञ्चालन हुन नदिने निर्णय भएको थियो । सो समय भदौ मसान्त सम्मको लागि लम्बिएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्