काठमाडौं : चितवनको सिमलतालबाट आएको पहिरोका कारण त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजी गर्न भारतीय खोज तथा उद्धार टोलीले खोजी कार्य सुरु गरेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिमलताल घटनाको खोजी तथा उद्धारका लागि भारत सरकारको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) को १२ सदस्यीय टोली नेपाल पुगेको छ ।
भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो । तिनीहरू पानी मुनि अन्वेषणमा प्रयोग हुने उपकरण र उपकरणहरूको सेट लिएर आएका छन । उनीहरु सशस्त्र प्रहरी टोली सँगै घटनास्थलमा सक्रिय रहने प्राधिकरणले जनाएको छ । गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत भारतीय उद्धार टोली पठाएको छ ।
यही असार २८ गते शुक्रबार विरगंज बाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरो सँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।
उक्त बसमा सवार ६५ जना मध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आज सम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको थियो भने ३९ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।



















आफ्नो प्रतिकृया दिनुहोस्