काठमाडौं : नेपाली आकाशको सुरक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तर बाट समेत निरन्तर प्रश्न उठिरहेका बेला पुन:हवाई दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ ।त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन सहति १८ जनाको मृत्यु ।
बुधबार यो दुर्घटना सम्म आइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमान सहित ६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा परि अहिले सम्म नौ सय १५ जनाले ज्यान गुमाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएका छन् ।
वि.स. २०७९ माघ १ गते पछि मानवीय क्षति हुने गरि जहाज दुर्घटना भएको यो पहिलो पटक हो । त्यस बेलायती एयरलाइन्सको एटिआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा चालकदलका सदस्य सहित ७२ जनाको मृत्यु भएको थियो ।
सी–चेक (निश्चित समयपछि गरिने परीक्षण)का लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा दुर्घटना भएको हो ।दुर्घटनामा जहाजमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भयो । पाइलट मनिषरत्न शाक्यको भने जिवित नै उद्दार भयो ।
पाइलट जीवित रहेको यो दुर्लभ घटना मानिएको छ । विमान दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले कार्यदल बनाइ सकेको छ भने पर्यटन मन्त्री बद्री पाण्डेले घटना बारे प्रभावकारी अध्ययन गर्ने र प्राप्त प्रतिवेदन कार्यान्वयनमा ल्याउने जिकिर गरे ।
नेपाल एयरलाइन्समा ३० बर्ष सेवा गरेका क्याप्टेन ओम गुरुङ विमान दुर्घटनाका सम्बन्धमा चालकदल लाई मात्र दोष दिने परिपाटी गलत भएको बताउँछन् । उनी भन्छन्,‘तुलनात्मक रुपमा नेपाली हवाइ आकाश केही असुरक्षित हो । तर दुर्घटनाको मुख्य कारण मौसम, आकाश, भौगोलिक अवस्था र चालक दललाई दोष दिएर नियमक निकाय उम्कन सक्दैन् ।’
हवाइ क्षेत्र सुरक्षित राख्न सरकार बढी जिम्मेबार हुनु पर्ने र निजी क्षेत्र संवेदनशिल बन्नु पर्ने क्याप्टेन गुरुङ बताउँछन् । क्याप्टेन गुरुङले दुर्घटना पछि बनेका अध्ययन कार्यदलले दिएको सुझाव सहितको प्रतिवेदन कार्यान्वयन नहुँदा समस्या आउने गरेको बताए ।
यता, क्याप्टेन शाक्यले एक सय फिटमा पुगे पछि जहाज कन्ट्रोल नभएको र तल खसेको बताएको उनको उपचारमा खटिएका चिकित्सकको भनाइ छ ।शाक्यको भनाइ लाई आधार मान्दा इन्जिनमा खराबी आएर जहाज अनियन्त्रित भएको बुझिन्छ ।
क्याप्टेन गुरुङले पनि इन्जिनमा खराबी आएको तर चालक दलका सदस्यले छिटो दिमाग लगाउन नसक्दा जहाज अनियन्त्रित हुन पुगेको हुन सक्ने अनुमान गर्छन् ।
त्रिभुवन विमानस्थल परिसरमै पाँच दुर्घटना : उद्धार असक्षम
देशकै आधुनिक र सर्वाधिक सुरिक्षत मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै बुधबारको दुर्घटना सहित पाँच दुर्घटना भएका छन् । ति मध्ये चार वटा दुर्घटनामा मानवीय क्षती भएको छ भने एउटा मात्र दुर्घटनामा मानीय क्षति हुन पाएको छैन ।
त्रिभुवन विमान स्थलमा पहिलो ठूलो दुर्घटना १४ जनवरी १९९५ मा भएको थियो । त्यस वेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने २३ घाइते भएका थिए । त्यस्तै, २१ अप्रिल २००४ मा बुद्ध एयरको जहाज दुर्घटनामा एकको मृत्यु भएको थियो ।
त्यस्तै, ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी अवतरणका क्रममा रनवे भन्दा बाहिर जाँदा दुर्घटनामा पर्यो । विमानमा सवार २३५ यात्रु घाइते भएका थिए । उक्त दुर्घटनामा मानवीय क्षति भने हुन पाएन ।
जहाज धावन मार्गमा अड्किँदा चार दिन सम्म विमानस्थल बन्द भएको थियो । त्यस्तै, मार्च २०१८ मा बंगलादेश बाट आएको युएस–बाङ्ला एयरलाइन्सको जहाज पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालकदल सहित ७१ यात्रु मध्ये ५१ जनाको ज्यान गएको थियो ।
सरकारले पटक पटक दुर्घटनाको पूर्व-तयारी भन्दै लाखौं खर्च गरेर अभ्यास गर्ने भएपनि राजधानी स्थितकै आधुनिक विमानस्थलमा दुघर्टनामा मानवीय क्षति हुन बाट जोगाउन नसक्नु दु:खद मानिएको छ ।
नेपालमा पहिलो विमान दुर्घटना वि.सं २०१२ मा भएको थियो । कालिंगा एयर दुर्घटनामा दुई जनाको निधन भएको थियो । त्यस्तै, विसं २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इण्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको निधन भएको थियो ।
इतिहास बारे जानकार सन्तोष खरेडी लेख्छन्,‘काठमाडौं गौचर हवाईअड्डामा अवतरणका क्रममा रनवेमा सन् १९५६ मे १५ को अपराह्न ०३:०५ मा इन्डियन एअरलाईन्सको विमान दुर्घटना भयो । काठमाडौंमा दुर्घटना भएको पहिलो, नेपालमा दुर्घटना भएको दोस्रो विमानहो ।
त्यसै बर्षको अप्रिल ३० मा राजा महेन्द्रको राज्याभिषेक समारोह हुँदा गौचर हवाईअड्डामा त्यति बेला सम्म सबैभन्दा बढी १० घन्टामा ६० वटा विमान (प्रत्येक १० मिनेटमा एउटा विमान) अवतरण भएका थिए।
सिमराबाट यात्रु लिएर गौचर हवाईअड्डामा आइपुगेको उक्त विमानमा चालकदलका सदस्यहरु सहित ३१ जना यात्रु सवार थिए। विमान हवाईअड्डाको रनवेमा आएर पनि चालकले नियन्त्रण गर्न नसक्दा विमान मनहरा फाँटमा खसेको थियो ।
१५जनाको ज्यान जाने गरि भएको विमान दुर्घटना लगत्तै सरकारले एउटा छानबिन समिति गठन गरेको थियो ।’त्यसपछि साना–ठूला दुर्घटना थपिँदै गए । आज नेपालमा भएका आन्तरिक तथा अन्तरर्राष्ट्रिय हवाई दुर्घटना र ति दुर्घटनामा भएको मानवीय क्षति बारे स्पष्ट तथ्यांकहरु भेटाइदैन् ।
मल्टिइन्जिन विमान दुर्घटनामा बढी क्षति
नेपालको हवाई सात दशकको हवाई इतिहासमा दुर्घटना र त्यसको क्षतिको ग्राफ समेत उत्तिकै बढ्दै गइरहेको छ । नेपालमा भएका हवाई दुर्घटनाको इतिहास पल्टाएर हेर्दा नेपालमा सिंगल इन्जिनको तुलनामा मल्टि इन्जिन विमान दुर्घटनामा धेरै मानवीय क्षति भएको पाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हाल सम्म मल्टि इन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन् ति दुर्घटनामा चार सय ६९ जनाको मृत्यु भएको छ । विभिन्न अन्तरर्राष्ट्रिय रिपोर्टहरुले समेत नेपालमा बढि दुर्घटना हुने र बढी मानवीय क्षति हुने विमानहरु मल्टिइन्जिनका रहेको समय समयमा सार्वजनिक गर्ने रिपोर्टहरुले देखाउँदै आएको छ ।
दुर्घटनामा परेका मल्टिइन्जिनयुक्तविमानहरु :
१.२४ जुलाई २०२४ : त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
२. १५ जनवरी २०२३ : पोखराको सेती खोँचमायती एयरलाइन्सको विमान दुर्घटना, ७२ जनाको मृत्यु ।
३.२९ मे २०२२ : मुस्ताङको तितीमा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
४. २८ मार्चा २०२० : बाँकेको नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
५. १४ अप्रिल २०१९ : लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, ३ जनाको मृत्यु ।
६. २८ नोभेम्बर २०१७ : हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
७. २७ मे २०१७ : लुक्ला एयरपोर्टमा समिट एयरको विमान दुर्घटना, दुईजनाको मृत्यु ।
८. २४ फेब्रुअरी २०१६ : म्याग्दीको दानामातारा एयरको विमान दुर्घटना, २३ जनाको मृत्यु ।
९. १६ फेब्रुअरी २०१४ : अर्घाखाँचीको मसिने लेकमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
१०. १ जुन २०१३ : सिमिकोट विमानस्थलमा सीता एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
११. १६ मे २०१३ : जोमसोम विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
१२. २८ सेप्टेम्बर २०१२ : भक्तपुरको मनोहरामा सीता एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु ।
१३. २१ सेप्टेम्बर २०१२ : डोल्पामा सीता एयरको विमान दुर्घटना, मानवीय क्षति नभएको ।
१४. १४ मे २०१२ : जोमसोम विमानस्थलमा अग्नि एयरको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
१५. २५ सेप्टेम्बर २०११ : ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु ।
१६. १५ डिसेम्बर २०१० : ओखलढुंगामा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
१७. २४ अगस्ट २०१० : मकवानपुरको शिखरपुरमा अग्नि एयरको विमान दुर्घटना, १४ जनाको मृत्यु ।
१८. ८ अक्टोबर २००८ : लुक्ला विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
१९. ३ जुलाई २००६ :बाजुरा विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, मानवीयक्षतिनभएको ।
२०. १२ जुन २००६ : जुम्ला विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना, ९ जनाको मृत्यु ।
२१.३० जुन २००५ : लुक्ला विमानस्थलमा गोरखा एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन।
२२. २५ मे २००४ : सोलुखुम्बुको लामजुरामायती एयरलाइन्सको विमान दुर्घटना, ३ जनाको मृत्यु ।
२३. २१ अप्रिल २००४ : त्रिभुवन विमानस्थलमा वुद्ध एयरको विमान दुर्घटन, १ जनाको मृत्यु ।
२४. २२ अगस्ट २००२ : कास्कीको पोखरामा सांग्रीला एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
२५. १७जुलाई २००२ : सुर्खेतको गडगडे डाँडामा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना, ४ जनाको मृत्यु ।
२६. ५ अप्रिल २००१ : तुम्लिङटारमा यती एयरलाइन्सको विमान दुर्घटना,मानवीय क्षति हुन पाएन ।
२७. १९ नोभेम्बर २००० : तुम्लिङटारमा कस्मिक एयरको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
२८. ३ नोभेम्बर २००० : लुक्लामागार्खा एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
२९. २७जुलाई २००० : डडेल्धुराको जोगबुढामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, २५ जनाको मृत्यु ।
३०. २६ फेब्रुअरी २००० : बझाङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
३१. २५ डिसेम्बर १९९९ : मकवानपुरको बुर्जोलेकमा स्काई लाइन एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
३२.५ सेप्टेम्बर १९९९ : काठमाडौंको थानकोटमा नेकोन एयरको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
३३. २१ अगस्ट १९९८ : म्याग्दीको चुच्चेखर्कमा सांग्रीला एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
३४. २३ डिसेम्बर १९९६ : डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना,मानवीय क्षति हुन पाएन ।
३५. २८ जुलाई १९९६ : सिमिकोटमा (एटीएससी, डीसीए) विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
३६. २५ अप्रिल १९९६ : चितवनको मेघौलीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
३७. १५ जुलाई १९९५ : चितवनको भरतपुरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति हुन पाएन।
३८. १४ जनवरी १९९५ : काठमाडौं विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, २ जनाको मृत्यु ।
३९. ३१ जुलाई १९९३ : सालीघोप्टेमा एभरेस्ट एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।
४०. ८ नोभेम्बर १९९३ : जोमसोममा नेपाल एयरलाइन्सको विमान दुर्घटना,मानवीय क्षति हुन पाएन ।
४१. २६ सेप्टेम्बर १९९२ : सिमिकोटमा (एटीएससी, डीसीए) विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४२. २८ जुन १९९१ : सिमिकोटमा एटीएससी, डीसीए विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४३.९ जुन १९९१ : लुक्लामानेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४४. १९ अगस्ट १९८७ : डोल्पामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४५. २ मे १९८६ : अछामको साँफेबगर विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४६. २२ डिसेम्बर १९८४ : चेक्लाटी डाँडामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १५ जनाको मृत्यु ।
४७. १५ अक्टोबर १९७३ : लुक्लामा नेपाल एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति हुन पाएन ।
४८. २५ जनवरी १९७० : भारतको नयाँ दिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
४९. १२ जुलाई १९६७ : मकवनापुरको हेटौडा नजिकै नेपाल एयरलाइन्सको विमान दुर्घटना, ३५ जनाको मृत्यु ।
५०. १ अगस्ट १९६२ : तुलाचनधुरीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
५१. ५ नोभेम्बर १९६० : रुपन्देहीको भैरहवामा नेपाल एयरलाइन्सको विभान दुर्घटना, ४ जनाको मृत्यु ।
सिंगल इन्जिनयुक्त र विदेशी विमानहरु भएको दुर्घटनाको विवरण
१. २९ मे २०२२ : मुस्ताङको लार्जुङमा तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु ।
२. १६ मे २०१८ : सिमिकोट पासमामकालु एयरको विमान दुर्घटना, २ जनाको मृत्यु ।
३. ८ अप्रिल २०१६ : सिमिकोट नजिक मकालु एयरको विमान दुर्घटना,मानवीय क्षति हुन पाएन ।
४. २६ फेब्रुअरी २०१६ : कालिकोटको चिल्खायामा एयर काष्ठमण्डपको विमान दुर्घटना, २ जनाको मृत्यु ।
५. २१ नोभेम्बर २०११ : मुगुको ताल्चा विमानस्थलमा मकालु एयरको विमान दुर्घटना,मानवीय क्षति हुन पाएन ।
६. १७जनवरी १९९९ : जुम्लामा नेकोन एयरको विमान दुर्घटना, ५ जनाको मृत्यु ।
७. २० नोभेम्बर १९९८ : सोलुखुम्बुको फाक्दिङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १ जनाको मृत्यु ।
८. ३० अक्टोबर १९८१ : मोरङको विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० जनाको मृत्यु ।
९. ३१ मार्च १९७५ : काठमाडौंको बौद्धमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
१०.३० अगस्ट १९५५ : बाराको सिमरामा कालिंगा एयरको विमान दुर्घटना, २ जनाको मृत्यु ।
११. १५ मे १९५६ : काठमाडौंमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना, १४ जनाको मृत्यु ।
१२. २४ मे १९५८ : पत्ने भन्ज्याङमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना, २० जनाको मृत्यु ।
१३. १० मे १९७४ : त्रिभुवन विमानस्थलमा थाई एयरवेजको विमान दुर्घटना, १ जनाको मृत्यु ।
१४. ३१ जुलाई १९९२ : रसुवाको घ्याङफेदीमाथाई एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु ।
१५. २८ सेप्टेम्बर १९९२ : ललितपुरको भट्टेडाँडामा पाकिस्तान इनटरनेशनल एयरलाइन्सको विमान दुर्घटना, १६७ जनाको मृत्यु ।
१६.७जुलाई १९९९ : काठमाडौंको भष्मासुर डाँडामा फ्रान्सको फुफुथान्साको विमान दुर्घटना, ५ जनाको मृत्यु ।
१६. ४ मार्चा २०१५ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमान दुर्घटना । मानवीय क्षति हुन पाएन ।
१७. १२ अप्रिल २०१८ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशको युएस बंगलाको विमान दुर्घटना, ५१ जनाको मृत्यु ।
१८. २० अप्रिल २०१८ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मलेसियाको मालिन्दो एयरको विमान दुर्घटना,मानवीय क्षति हुन पाएन ।



















आफ्नो प्रतिकृया दिनुहोस्