११ भाद्र,सिरहा: सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।दिउँसो १२ बजेर ३० मिनमा सोही लघुवित्त बाट ऋण लिएका महिला सदस्यहरु १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए ।
उनीहरु लाई सघाउन १०/१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरु एक्कासी कार्यालयमा पसेर फाइल, कागज पत्रहरु माथिल्लो तला बाट भूइ तर्फ हुर्याउन थालेको एक प्रत्यक्षदर्शीले बताए ।

नाम उल्लेख नगर्ने शर्तमा संस्थाका एक कर्मचारीले भने,‘तल बसेकाहरुले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छाडेनन् । कम्प्यूटरको सीपीयू, मोनिटोर र सिसिटिभी क्यामराहरु फुटाए । इनभर्टरका व्याट्री हरु क्षतिग्रस्त बनाइएका छन् । कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बीच हातपात र घम्सा घम्सी समेत भएको थियो ।’
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्, ‘क्षतिको मूल्यांकन यकिन भएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको छ । अहिले सम्म कसैलाई पक्राउ गरिएको छैन । आगजनी र तोडफोडमा संलग्नहरुको पहिचान गरी खोजतलास शुरु गरिएको छ ।’
लघुवित्त संस्थाहरुले चर्को व्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरु लाई कारवाही गर्ने अभियानी हरुले दबाव स्वरुप यस्तो हर्कत गरेको हुन सक्ने स्थानीयहरुले बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्