१८ असोज,काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नु अघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।
माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोली सहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययन पछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलो पटक प्रधानमन्त्री भए देखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताए ।
अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबै भन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधार कै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्प लगायत सबै खाले विपत बाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने उल्लेख गरे ।
त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उनले यसका आधारमा चाँडै सरकार लाई ज्ञापन पत्र दिने पनि जानकारी दिए ।
वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माण सँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रति कार्यका योजना बनाउनु पर्ने उनले बताए ।
मौसमको पूर्वानुमान हुँदा हुँदै पनि राज्य संयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजना बद्ध रुपमा अघि बढ्नु पर्ने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुन:र्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारी रुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनु पर्ने बताए ।




















आफ्नो प्रतिकृया दिनुहोस्