०५ कार्तिक,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति भित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्परा भित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् ।
‘राजनीति र अर्थ तन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यस लाई उठाउन वर्षा लाग्न सक्छ । यस तर्फ हामी सचेत हुनु पर्छ ।’, इन्द्रजात्रा जस्ता पर्वहरुमा भएका कतिपय भड्काव पूर्ण गतिविधि प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति भित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवाधन तथा विशेष धूनहरु रहेको र यसको संरक्षणमा भइ रहेका प्रयासको प्रशंसा गरे ।
सो अवसरमा समितिका अध्यक्ष एवं पूर्व मन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत लाई सरकारी काम काजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रि परिषद्बाट भएको निर्णय लाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरे ।
उनले राष्ट्र बैंक बाट निष्कासन हुने नोटमा नेपाल संवतको पनि प्रयोग गर्न र विदेश स्थित नेपाली नियोगहरुमा नेपाल संवतको नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे ।राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवतको प्रयोगको अवस्था बारे अनुगमनको व्यवस्था गर्न सुझाव दिए । सरकारले २०६५ मा साख्वा लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदै छ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमी स्थित साख्याको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुने छ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओली लाई प्रमुख अतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरु हीतकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा नरेशमान बज्राचार्य लगायतको उपस्थिति थियो ।




















आफ्नो प्रतिकृया दिनुहोस्