०६ कार्तिक,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रति पक्षी सहित विपक्षी दल बीच बाढी, पहिरो र डुबानका घटना पछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्ने विषयमा समान मत देखिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार पाँच विपक्षी दलको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा माग पत्र र सुुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले विपक्ष दल लाई ध्यानाकर्षण पत्रका लागि धन्यवाद दिँदै राहत र पुन: स्थापनाका सरकारले आफ्नो तर्फ बाट प्रभावकारी काम गर्दै आएको जानकारी गराए ।
उनले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको नि: शुल्क उपचार भइ रहेको, बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको, बेलिब्रिजहरु समेत मगाएर राजमार्गहरुमा भएको अवरोध खुलाइएको जनाउँदै यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान दलहरु लाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले संसदीय छान बिन समितिको प्रतिवेदनका आधारमा सहकारी सम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूूर्व उप-प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकाय बाट प्रक्रियागत रुपमा पक्राउ गरिएको स्पष्ट पारे ।
‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसै सँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छान बिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भने पछि समिति गठन भयो । समितिको प्रतिवेदन आए पछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो । मुख्य कुरा हामीले विधि र पद्धति लाई मान्नु पर्छ र स्थापित गर्नु पर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धति लाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गाली गलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।’




















आफ्नो प्रतिकृया दिनुहोस्