२३ वैशाख,इटहरी : तराईका प्रमुख बजारहरूमा विषादी मिसिएका तरकारीको व्यापकता बढ्दो देखिएको छ। धरान उपमहानगरपालिका–१३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परीक्षणमा अत्यधिक विषादी पाइए पछि २४ क्विन्टल भन्दा बढी तौलको काउली (फूलकोपी) नष्ट गरिएको छ।
धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाका अनुसार परीक्षण गरिएको काउलीमा ९७.४ प्रतिशतसम्म विषादीको मात्रा भेटिएको थियो। “स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्तरको विषादी भेटिएकाले तत्काल नष्ट गरिएको हो,” उनले जानकारी दिए।

इटहरी उपमहानगरपालिकाले पनि नियमित बजार अनुगमनका क्रममा अखाद्य र हानिकारक सामग्री प्रशस्तै भेटिने गरेको जनाएको छ। यस्ता सामग्रीहरू परीक्षण पश्चात तत्काल नष्ट गरिने गरिएको उपमहानगर स्रोतले बताएको छ।
धरानको प्रयोगशालाले पछिल्लो समय परीक्षण गरेका अन्य तरकारीहरूमा पनि अत्यधिक विषादी भेटिएको छ। परीक्षण अनुसार सादा सिमीमा ७.४४ प्रतिशत, गाँजरमा १०.११ प्रतिशत, खीरामा ३०.७३ प्रतिशत, गोलभेंडामा २५.२१ प्रतिशत, बन्दाकोबीमा २९.६९ प्रतिशत र घिरौँलामा ३०.७८ प्रतिशत सम्म विषादी रहेको पाइएको छ।
धरान स्थित प्रयोगशालाका नायब प्राविधिक सहायक रुपेश रिजालका अनुसार ३५ प्रतिशत भन्दा कम विषादी भएका तरकारी उपभोग गर्न मिल्ने, ३५–४५ प्रतिशतका लागि केही दिन राखेर मात्र उपभोग गर्न सकिने, तर ४५ प्रतिशतभन्दा बढी विषादी भएमा पूर्ण रूपमा नष्ट गर्नुपर्ने मापदण्ड अनुसार परीक्षण गरिन्छ।
उनले हाल नेपालभरका थोक कृषि बजारहरूमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी मात्र परीक्षण हुँदै आएको जानकारी दिए। स्थानीयवासीहरूले भारतबाट आउने तरकारीहरूको समेत परीक्षण गर्न र निगरानी कडाइ गर्न माग गरेका छन्।
जनस्वास्थ्य विज्ञहरूका अनुसार यस्ता विषादीयुक्त तरकारीको निरन्तर उपभोगले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ, त्यसैले जिम्मेवार निकायहरूलाई तत्काल कडा कारबाही गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ।



















आफ्नो प्रतिकृया दिनुहोस्