१४ जेठ, काठमाडौं : मिस युनिभर्स नेपाल २०२५ का लागि दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा काठमाडौं स्थित हिल्टन होटलमा बुधबार आयोजित विशेष समारोह मार्फत यस वर्षको संस्करण सार्वजनिक गरिएको हो।
कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले प्रतियोगिता लाई नेपाली महिलाको प्रतिभा, आत्मविश्वास र बहुआयामिक सौन्दर्यता प्रस्तुत गर्ने समावेशी प्लेटफर्मको रूपमा वर्णन गरिन्।“तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो,” उनले भनिन्, “हामी सबै पृष्ठभूमिका महिलालाई स्वागत गर्दछौं।”

यस वर्षको प्रतियोगिता विशेष बनाउँदै आयोजकले आठ भागमा आधारित रियालिटी टिभी शोको स्वरूपमा प्रस्तुत गरिने जनाएको छ। यसबाट दर्शकहरूले प्रतियोगीहरूको यात्रा, चुनौती र आत्मपरिवर्तनलाई नजिक बाट अवलोकन गर्न सक्ने छन्।
दर्ता जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ। इच्छुक सहभागीहरूले खल्ती एप, मिस युनिभर्स नेपालको आधिकारिक वेबसाइट वा सोसल मिडिया प्लेटफर्म मार्फत आवेदन दिन सक्नेछन्।सहभागीको न्यूनतम उमेर १८ वर्ष हुनु पर्नेछ भने प्लस टु वा सो सरहको शैक्षिक योग्यता आवश्यक हुनेछ।
आयोजकका अनुसार प्रतियोगिता समावेशी मूल्यमा आधारित रहने भएकाले उचाइ, तौल वा वैवाहिक अवस्थामा कुनै प्रतिबन्ध लागु हुने छैन। गैरआवासीय नेपाली (NRN) महिलाहरूले पनि सहभागिता जनाउन पाउने छन्।
समारोहमा मिस युनिभर्स नेपाल २०२४ सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका देश निर्देशक नुमान ओजकान, कोरियोग्राफर दिक्पाल कार्की, अध्यक्ष साबी पुरीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताका उत्कृष्ट प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्नेछन् भने भदौ महिनामा क्लोज क्याम्प र ग्रान्ड फिनाले आयोजना गरिनेछ।
यस वर्ष मिस युनिभर्स नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँग मिलेर समाजसेवा तथा सामाजिक कल्याणका क्षेत्रमा सहकार्य गर्ने घोषणा समेत गरेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्