जनकपुरधाम । हालसालै जनकपुरधाममा उत्पन्न भएको नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएसन जनकपुर बीचको जग्गा विवादमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पत्रकारहरुको पक्षमा स्पष्ट समर्थन जनाएका छन्।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको जग्गा माथि नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेपछि विवाद चुलिएको हो। यस विषयमा सोमबार पत्रकार महासंघको टोली सँग भेट गर्दै मेयर साहले बार एशोसिएसनको दाबीलाई ‘अनुचित र अन्यायपूर्ण’ भन्दै कडा आपत्ति जनाए।
उनले जग्गा लिज प्रक्रिया कानुनी रूपमा पूरा भइसकेकाले बार एशोसिएसनले कुनै प्रकारको रोकटोक गर्न नपाउने स्पष्ट पारे। “कानूनी प्रक्रिया पालना गरेर प्राप्त गरिएको जग्गा माथि अवरोध गर्नु बार एशोसिएसनको गलत कदम हो,” मेयर साहले भने।
साथै, उनले वार्ता र संवादमार्फत समस्या समाधान गर्नु पर्नेमा जोड दिँदै दोषी माथि आवश्यक कानूनी कारबाही हुनु पर्ने धारणा व्यक्त गरे। मेयर साहले दुबै पक्षलाई संयमित रहन आग्रह गर्दै शान्तिपूर्ण ढंगले विवाद टुंग्याउनुपर्ने उल्लेख गरे।
उक्त भेटमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका पदाधिकारी, नेपाल पत्रकार महासंघ धनुषाका पदाधिकारी, प्रेस चौतारी, प्रेस युनियन लगायत विभिन्न सञ्चार संगठनका प्रतिनिधिहरु पनि सहभागी थिए।



















आफ्नो प्रतिकृया दिनुहोस्