विराटनगर । लगातारको वर्षा पछि मोरङका विभिन्न बस्तीहरूमा खोलाको पानी पस्दा ठूलो संख्यामा घरपरिवार प्रभावित भएका छन्। केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाको बहाव बढे सँगै जिल्लाका दर्जनौं स्थान जोखिममा परेका हुन्।
शनिबार बिहान देखि जारी वर्षाका कारण विराटनगर महानगर सहित उर्लाबारी, सुनबर्षी, धनपालथान र मिक्लाजुङ गाउँपालिकाका बस्तीहरू डुबानमा परेका छन्। जिल्ला प्रशासनका अनुसार करिब ७५० भन्दा बढी घरका परिवारलाई अहिले सुरक्षित स्थानमा सारिएको छ।

विराटनगर–१२ मा केसलिया खोलाको बाँध नाघे पछि बस्तीमा पानी पसेको थियो। प्रहरी चौकी बखरीबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ३५० जनालाई विद्यालय र अस्थायी भवनहरूमा सुरक्षित राखिएको छ। यस्तै, विराटनगर–२ पूर्वटोल र –५ शंकरबारी टोलमा समेत खोलाको पानी पस्दा दर्जनौं घर प्रभावित भएका छन्।
सुनबर्षी नगरपालिका–६ कैनीमा बक्राहा खोलाको बहाव बढेपछि प्रहरी र स्थानीयवासीले बाँध मजबुत बनाउन माटो थप्ने काम गरेका छन्। सोही खोलाको पानी पस्दा सुनबर्षी–३ बाहुनटोलका करिब ६० घरमा डुबान भएको छ।

त्यस्तै, धनपालथान गाउँपालिका–६ मा लोहान्द्रा खोलाले बाँध नाघ्दा करिब १५० घर प्रभावित भएका छन् भने उर्लाबारी नगरपालिका–९ मा रतुवा खोलाको बाँध फुट्दा करिब २० घर वरपर पानी पसेको छ। प्रभावित ५ घरका २० जनालाई तत्काल छिमेकीको घरमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
मिक्लाजुङ गाउँपालिका–६ मलामीटहरास्थित नुनसरी खोलामा पनि बाँध कटान सुरु भएकाले प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा मर्मत कार्य तीव्र बनाएका छन्।जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा निकाय, स्थानीय तह र जनप्रतिनिधिहरू सतर्क अवस्थामा रहेको जनाउँदै, बहाव अझै बढे थप स्थानान्तरणका लागि तयारी गरिएको जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्