सिरहा,१७ असार : कोरोना कहरका कारण जिल्ला प्रशासन कार्यालय सिरहाले बन्द गरेको नयाँ नागरिकता र नागरिकता प्रतिलिपि सम्बन्धी सेवा अब बार अनुसार सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण दर घटेसँगै कार्यालयले यही असार २० गते आइतबारदेखि बारअनुसार सेवा सञ्चालन गर्ने जनाएको छ । कोभिड–१९ संक्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको थियो ।
संक्रमण अझै कायमै रहेकोले सेवाग्राहीहरुको अत्यधिक भीडभाडलाई व्यवस्थापन गर्न सेवाहरुमध्ये नयाँ नागरिकता र प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह पुनः सञ्चालन गर्न लागेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो । भीडभाड कम हुने सेवा प्रवाह गर्न एक दिनमा बढीमा तीन वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइने उहाँको भनाइ थियो ।
उहाँका अनुसार आइतबार कर्जन्हा नगपालिका र मिर्चैया नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यसैगरी सोमबार कल्याणपुर नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका, मङ्गलबार गोलबजार नगरपालिका, अर्नमा गाउँपालिका र नरहा गाउँपालिका तथा बुधबार धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराइने छ ।
त्यस्तै बिहीबार औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिका तथा शुक्रबार सिरहा नगरपालिकाका सेवाग्राहीले सेवा पाउने जारी सूचनामा उल्लेख छ । सेवा लिन आउने सेवाग्राहीलाई कोभिड–१९ बाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न र स्थानीय तहका जनप्रतिनिधिहरुलाई एक दिनमा तीन जना सेवाग्राहीको मात्र सिफारिस गर्न आग्रह गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्