६ कात्तिक,जलेश्वर :आफ्ना मृत पितृलाई आगोको मुस्लोले स्वर्ग जाने बाटो देखाउने परम्पराको रुपमा दीपावलीका दिन तराई–मधेशमा मनाइने हुक्का-लोली पर्व लोप हुन थालेको छ ।सम्पूर्ण मिथिलाञ्चलको पौराणिक तथा सांस्कृतिक पहिचान भएको हुक्का-लोली आधुनिकता सँगै लोप हुन थालेको हो । महोत्तरी लगायत मिथिलाञ्चल भरि पितृकार्यका निमित्त गरिने धार्मिक मान्यतालाई अहिलेका पुस्ताले मनोरञ्जनका रुपमा लिन थालेकाले हुक्का- लोली नचाउने कार्य लोप हुन थालेको बताइएको छ ।
महोत्तरीको सहरी र ग्रामीण क्षेत्रमा बालक देखि वृद्ध सम्म पहिला हुक्का-लोली नचाउने गरिन्थ्यो तर आधुनिक युगमा प्रवेश गरिसके पछि यसलाई मनोरञ्जनको रुपमा सहरी र ग्रामीण क्षेत्रका गाउँमा फाँटफुट रुपमा युवा हुक्का-लोली नचाउने गरिन्थ्यो । साथै ठूलठूला आवाजका पटाका र झिलिमिली बत्तीले पनि यो परम्परालाई विस्थापन गर्दै लगेको छ । स्कन्दपुराणमा उल्लेख भए अनुसार मिथिलाञ्चलमा पितृ लाई बाटो देखाउन र पितृको आत्माको शान्तिका निम्ति लक्ष्मी पुजाका राति हुक्का-लोली नचाउने गरिन्थ्यो तर यसलाई अव व्यावसायिक रुप दिएर फलामको तारमा पुरानो झुत्रोको कपडा बाँधेर एउटा डल्लो बनाउने र त्यसमा मटितेलले भिजाइ आगो सल्काएर नचाइ मनोरञ्जन लिने गरिन्छ ।
यसका अलावा झिलिमिली बत्ती र पटाकाले पनि यस परम्परालाई असर पुर्याएको छ । विगतमा हुक्का-लोली नचाउने कार्यमा बालक देखि वृद्धसम्म सहभागी हुने गर्दथे तर अहिलेका पुस्ताले यसलाई छाडेर बम, पटाका र झिलिमिली बत्तीमा पल्केपछि यो परम्परा हराएको हो । मिथिलाञ्चलमा पितृको सम्मान र परम्पराको रुपमा मनाइने हुक्कालोली नचाउने कार्यलोप हुन थालेपछि सांस्कृतिविद्हरुलेले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्