काठमाडौँ : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रश्नमा सन् २०२३ सन्तुष्टिजनक नरहेको नेपाल पत्रकार महासंघले जनाएको छ । यस वर्ष प्रेस स्वतन्त्रता हनन सम्बन्धी ५८ वटा घटना अभिलेखमा रहेको महासंघद्वारा आज जारी एक विज्ञप्तिमा उल्लेख छ ।
“विगतका वर्ष मा जस्तै यस वर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन् । यसवर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चुनौतिको विषय बनेको छ”, विज्ञप्तिमा भनिएको छ
महासंघका अनुसार सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन् । सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएका थिए ।
सन् २०२३ मा विभिन्न घटनामा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएका छन् । सन् २०२२ मा एक सय ३२ पुरुष र १८ पत्रकार महिला प्रभावित भएका थिए । त्यस्तै सन् २०२४ मा पाँच वटा संचार संस्था प्रभावित बनेका छन् भने २०२२ मा छ वटा संचार संस्था प्रभावित भएका थिए ।
नेपाल पत्रकार महासंघले सन् २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात् पेशागत असुरक्षालाई मुख्य चुनौतिको रुपमा लिएको उल्लेख गरेको छ । संचार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई महासंघले दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादसमेतको माध्यमबाट समाधानको पहल गरिरहेको जनएको छ ।
महासंघले सन् २०२४ मा श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।
“राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक–पटक प्रेस माथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्क सहित समग्र मिडिया प्रति नै लाञ्छित गर्ने लगायतका कार्य सन् २०२३ मा भएका छन्”, महासंघले भनेको छ, “महासंघ राजनीतिक दल र सरकारका विभिन्न पदमा बसेका व्यक्तिलाई पदीय मर्यादा, विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार प्रति प्रतिवद्ध हुन आग्रह गर्दछ ।”
सरकारले सन् २०२३ मा संचार सम्बन्धी कानुन निर्माणमा सुस्तता देखाएको महासंघको टिप्पणी छ । महासंघकै संलग्नतामा मस्यौदा भएका संचार सम्बन्धी कानुन यथाशीघ्र प्रक्रियामा लैजान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । संचार सम्बन्धी कानुनहरू ल्याउँदा नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता, संचारको हक तथा पूर्ण प्रेस स्वतन्त्रता लगायतका व्यवस्था ख्याल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारलाई महासंघले सचेत गराउँदै आएको महासंघले बताएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्