काठमाडौं : राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार ‘मिडिया काउन्सिल विधेयक २०८०’ माथि विज्ञहरू सहितको छलफल भएको छ ।सिंहदरबार स्थित समितिको कार्यकक्षमा भएको छलफलमा सांसदहरुले मिडिया काउन्सिल लाई संसद प्रति जवाफदेही बनाउनु पर्ने र सरकारको विभागका रुपमा नभई स्वतन्त्र निकायका रुपमा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

छलफलमा सहभागी हुँदै सांसद कृष्ण प्रसाद सिटौलाले इतिहासको विभिन्न कालखण्डमा प्रेस जगतले नेपालको सडक थामेको उल्लेख गर्दै विधेयकले पत्रकारिता क्षेत्रलाई बाँध्न नहुने बताए ।उनले भने,
‘०६२/६३को आन्दोलन देखि त्यस बेला देखि प्रेसले सडक थामेकै हो । जसले जस्तो भूमिका भएपनि प्रेसको अगुवाई थियो । संविधान निर्माण गर्ने बेला पनि प्रेस स्वतन्त्रता लेख्ने हो कि पूर्ण प्रेस स्वतन्त्रता लेख्ने भन्ने विषयमा विवाद भएको थियो । तर, त्यस्तो साहस अहिलेको पत्रकारितामा छैन । विधेयकले पनि पत्रकारितालाई बाँध्न हुँदैन ।’

छलफलमा सांसदहरुले प्रेस जगत राज्यको चौथो अंग भएकाले यसले राजनीतिलाई बाटो देखाउनु पर्नेमा जोड दिए । सांसदहरुले विधेयकको सैद्धान्तिक पक्षमा स्पष्ट हुनु पर्ने, काउन्सिललाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोज्ने र अन्य निकायले सरकारले नियमन गर्न नहुने भन्नु विरोधाभाष भएको समेत उल्लेख गरे ।
आफ्नो प्रतिकृया दिनुहोस्