काठमाडौं : विवाहित महिलाहरु बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को लागि बिहीबार बाट आवेदन खुल्ला गरिएको छ ।बिहीबार राजधानीको कमलादि स्थित दुई सय ५६ फिट उचाईको २२ औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो ।
आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वर्ल्ड २०२४ आगामी कात्तिक १० गते कमलादि स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। यसका लागि आगामी भाद्र ८ गते नयाँ वानेश्वर स्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरणको अडिसन गरिनेछ।
यस वर्ष पनि मिसेस नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए । यसका साथसाथै, सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने आयोजक ले जानकारी गराए । ‘यस पटक हामी केहि परिमार्जित र फरक किसिमले कार्यक्रम गर्नेछौँ । जुन, महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ’ उनले भने ।
कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२३ तथा मिसेस वर्ल्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागीताले विवाहित र विभिन्न पेशामा आवद्ध महिलाईलाई थप माथि उठ्ने मौका दिने बताइन्।
उनले मिसेस नेपाल वर्ल्ड २०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव शेयर गर्दै मिसेस नेपाल वर्ल्डमा सहभागी भए-पश्चात आफूले विभिन्न संघ संस्थामा आवद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताइन् ।त्यस्तै एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वर्ल्ड निकै उपयोगी मञ्च भएको बताइन्।
‘यो प्ल्याटफर्म नभएको भए शायद मैले यो यात्रा शूरु गर्न सक्दिनथे होला। प्रतियोगिताको विजेता बन्नु भनेको टाईटल जित्नु मात्र नभई व्यक्तित्व विकास तथा आफूमा भएका कमी-कमजोरीलाई निखार्दै अगाडि बढ्ने कला सिक्नु पनि हो’ नृत्यागंंना समेत रहेकी सिताले आफूले विभिन्न अप्ठेरोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाउँदै प्रतिस्पर्धामा सबै स्पर्धीलाई समान अवसर र तालिम दिईने गरको अनुभव भएको बताइन्।

प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वर्ल्डलाई यस पटक बृहत ढंगले आयोजना गर्न लागेको बताए । ‘हामी मिसेस नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस वर्ल्डको अन्तराष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौं । नेपाली समुदाय र संघ संस्थाहरुसंग समन्वय र सहज वातावरण तय गर्नका लागि म केहि समय अमेरिका गएर हालै फर्किएको छु । त्यस आधारमा मिसेस वर्ल्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु’ उनले भने।
प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरीले मिसेस नेपाल वर्ल्डले प्रत्येक वर्ष उचाई लिइरहेको चर्चा गर्दै आगामी कार्यक्रमले थप उचाई लियोस् भन्दै शुभकामना दिए ।स्काई वाक टावरका प्रमूख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठले विवाह पछि महिलाहरु अगाडि बढ्न असजिलो हुन्छ भनिने नेपाली समाजमा रिबन ईन्टटेन्मेन्टले विवाहित महिलाका लागि आयोजना गर्दै आईरहेको कार्यक्रममा जोडिन पाउँदा खुशी व्यक्त गरे।
कार्यक्रममा स्काई भ्यु टावरको टुप्पो बाट मिसेस नेपाल वर्ल्डको व्यानर प्रदर्शन गरिएको थियो ।आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ। सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरुले प्रशिक्षण दिनेछन्।



















आफ्नो प्रतिकृया दिनुहोस्