२० गते असोज,काठमाडौँ: गत ११ र १२ असोजको अविरल वर्षा पछि आएको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्याए पछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आज दिउँसो बाट सञ्चालनमा आउने भएको छ ।
यस सडक खण्ड अन्तर्गत कुलेखानी ड्याम मुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भए पछि आज बाट सवारी साधन सञ्चालन हुने भएको हो ।यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्कर प्रसाद पोखरेलले फाखेल सडक खण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आज बाट सडक सञ्चालन आउने बताए ।
उनले भने, ‘फाखेल सडक खण्ड आज दिउँसो १ बजे बाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ। हामीले तत्काल यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू तयार पारेका छौँ । अब कुनै ठुलो समस्या नआए आज दिउँसो बाट सवारी साधन निर्वाध सञ्चालन गर्न सकिन्छ ।’
निर्देशक पोखरेलले कुलेखानी ड्याममुनिको पुलको पहुँच मार्ग भत्किएको भन्दा केही तल बाट डाइभर्सन निर्माण गरेको जानकारी दिए । उनले शनिबार राति सम्ममा डाइभर्सनको काम पूर्ण रूपमा सकिने बताए ।
यस्तै, माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकता अनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उनको भनाइ छ । निर्देशक पोखरेलका अनुसार फाखेल सडक भएर आज केही मोटरसाइकल सञ्चालनमा आएका छन् भने उक्त सडक खण्डमा फसेका सवारी साधान समेत गन्तव्य तर्फ लागेका छन् ।
यता, कुलेखानी सिस्नेरी तर्फको सडक सञ्चालनका लागि भने सोमबार सम्मै कुर्नु पर्ने उनको भनाइ छ। उक्त सडक खण्डमा बाढीले सडक बगाएका ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भए पछि खोलाको बाटो भएर सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने काम भइ रहेको पोखरेलले जानकारी दिए ।
कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक खण्डमा भइ रहेको काम र यातायात सञ्चालनको पूर्व तयारीका विषयमा बुझ्न शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थ प्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का लगायतको टोली निरीक्षणको लागि फाखेल महालक्ष्मी पुगेको थियो ।




















आफ्नो प्रतिकृया दिनुहोस्