३ चैत्र,धनुषा: जनकपुरधाममा होली खेल्ने क्रममा विवाद बढ्दा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।
शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा युवाहरू बीच विवाद हुँदा १९ वर्षीय आँशु यादव माथि छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरे।
घटनामा संलग्न भएको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।स्थानीयका अनुसार मृतक यादव परिवारको एक्लो छोरा थिए, र उनका बुबाको निधन मात्र छ महिनाअघि भएको थियो।
धनुषा सहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइए पनि जनकपुरधाममा शनिबार होली मनाइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुण कुमार सिंहले जानकारी दिएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्