२०८२ वैशाख ७, मटिहानी: मटिहानी नगरपालिकाको शिक्षा संयोजक एवं राम माध्यमिक विद्यालय, मटिहानीका पूर्व प्रधानाध्यापक तथा मटिहानी नगरपालिका–६ निवासी श्री चन्देश्वर साहको २०८२ साल वैशाख ६ गते राति असामयिक निधन भएको खबरले सम्पूर्ण मटिहानी नगर शोकाकुल बनेको छ।

नगर शिक्षा प्रणालीमा उल्लेखनीय योगदान पुर्याएका साहको निधनले शिक्षा क्षेत्रलाई अपूरणीय क्षति पुगेको भन्दै मटिहानी नगर कार्यपालिकाले आज आकस्मिक शोकसभा आयोजना गरेको छ। नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा बसेको बैठकले दिवंगत साहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गरेको छ।

बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक प्रस्ताव पारित गर्नुका साथै आज एक दिनका लागि नगरपालिका अन्तर्गत सम्पूर्ण कार्यालय तथा कामकाज बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका अनुसार, स्व. साहले मटिहानीको शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान गरेका थिए, जुन सधैं सम्झना गरिनेछ।
दिवंगत श्री चन्देश्वर साह प्रति भावपूर्ण श्रद्धाञ्जलि।
आफ्नो प्रतिकृया दिनुहोस्