३ जेठ, जनकपुर: धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित वान्डरल्याण्ड वाटर पार्कमा शनिबार विद्यार्थी र प्रहरी बीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ।
जनकपुरधाम स्थित कृष्णा फाउन्डेसनले कक्षा १२ का विद्यार्थीहरूका लागि मात्र एक सय रुपैयाँ शुल्कमा वाटर पार्कमा कार्यक्रम आयोजना गरेको थियो। आयोजक संस्था र व्यवस्थापन बीच ७०० देखि ९०० जना विद्यार्थी सहभागिता हुने सहमति भए पनि अनुमानित संख्याको दुई गुणा बढी, करिब २,००० विद्यार्थी उपस्थित भए पछि स्थिति तनावपूर्ण बनेको थियो ।

वाटर पार्कका व्यवस्थापक अभिषेक गोइन्काका अनुसार, क्षमता भन्दा धेरै विद्यार्थीहरू प्रवेश गर्न खोज्दा पार्क प्रशासन र विद्यार्थीहरू बीच विवाद चर्किँदै झडपमा परिणत भयो। सो क्रममा पार्कको मूल गेट, सिसिटिभी क्यामेरा, सिसा, रुखविरुवा, गमला, टेन्ट, फलामको संरचना, कुर्सी लगायतका सामग्रीमा तोडफोड हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

झडपका क्रममा विद्यार्थीहरूले दुईवटा सवारी साधन (हाइस) मा समेत तोडफोड गरेका छन्। अवस्था नियन्त्रणमा लिन प्रहरी द्वारा केही राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो। झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
तोडफोडमा संलग्न १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने घटनास्थलमा अहिले ठूलो संख्यामा सुरक्षा टोली परिचालन गरिएको छ। अवस्था सामान्य भए सँगै क्षतिको पूर्ण मूल्याङ्कन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्