५ जेठ,मटिहानी। महोत्तरी जिल्लाका १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिका आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्ने पहिलो पालिका बनेको छ। नगर प्रमुख हरि प्रसाद मण्डलको नेतृत्वमा मटिहानीले आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई लक्षित गर्दै ४४ करोड ५० लाख रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

नगर प्रमुख मण्डलले नगरसभाको १५औँ खुला सत्रमा बजेट प्रस्तुत गर्दै मटिहानीलाई एक समावेशी, समृद्ध र आत्मनिर्भर नगरपालिका बनाउने लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरे। संघीय सरकारबाट २८ करोड १० लाख, प्रदेश सरकार बाट १ करोड २६ लाख, राजस्व बाँडफाँडबाट १० करोड ५ लाख र आन्तरिक स्रोतबाट ५ करोड ९० लाख आम्दानी अनुमान गरिएको छ।

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
नगर प्रमुख मण्डलले मटिहानी नगरको समृद्धिको मूल आधारका रूपमा कृषि, शिक्षा र स्वास्थ्यलाई बजेटको मुख्य प्राथमिकता बनाएका छन्। कृषिमा आत्मनिर्भरताका लागि आधुनिक प्रविधिको प्रयोग, बीउ वितरण, किसानलाई सहुलियत र अनुदान कार्यक्रम जारी राख्ने योजना प्रस्तुत गरिएको छ।
शिक्षामा स्थानीय भाषा मैथिलीलाई प्रवर्द्धन गर्दै कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा १०० अंकको मैथिली विषय समावेश गरिने छ। साथै छात्रालाई साइकल वितरण, जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति तथा ल्यापटप वितरण, ‘फ्री बुक एन्ड ब्याग डे’ कार्यक्रमसमेत अगाडि सारिएको छ।
स्वास्थ्य क्षेत्रमा बर्थिङ सेन्टरदेखि जनकपुर अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क अल्ट्रासाउन्ड परीक्षण तथा आयुर्वेद र पारम्परिक चिकित्सा प्रणालीलाई प्रवर्द्धन गर्ने कार्यक्रम समावेश छन्।

मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल
नगर प्रमुख मण्डलले धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासलाई समेत बजेटको प्राथमिकतामा राख्दै मटिहानी मठलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल थालिने घोषणा गरेका छन्। साथै पोखरी र धार्मिक स्थलहरूको संरक्षण, सौन्दर्यीकरण र १० दिनको तलबसहितको काज छुट व्यवस्था गरेर आन्तरिक पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ।

अन्य क्षेत्रको पनि समान महत्व
बजेटमा गरिबी निवारण, समावेशीकरण, पूर्वाधार निर्माण, सहरी विकास, खेलकुद प्रवर्द्धन, वातावरणीय संरक्षण, विपद् व्यवस्थापन, सञ्चार क्षेत्रको सुदृढीकरण र सुशासन प्रवर्द्धनका लागि छुट्टाछुट्टै कार्यक्रम तथा विनियोजन गरिएको नगर प्रमुख मण्डलले जानकारी दिएका छन्।
नगर प्रमुख मण्डलको यो दिगो दृष्टिकोणले मटिहानी नगरपालिकालाई समावेशी विकास तर्फ उन्मुख गराउने विश्वास जनाइएको छ। उनले भने, “हामी योजनाबद्ध विकासमार्फत मटिहानीलाई आत्मनिर्भर, समुन्नत र समृद्ध नगरपालिका बनाउने लक्ष्यसाथ अघि बढिरहेका छौँ।”



















आफ्नो प्रतिकृया दिनुहोस्