६ असार,काठमाडौं । महानगरपालिका–२२ को आयोजनामा हुने ‘फस्ट मिस्टर महानगर बडी बिल्डिङ च्याम्पियनसिप २०८२’ का लागि ३८ जना खेलाडी प्रतिस्पर्धामा छन्। प्रतियोगिताको अन्तिम चरण असार ७ गते राष्ट्रिय सभागृहमा हुने भएको छ।
आज सम्पन्न तौल मापनमा ५५ के.जी.देखि ७५ के.जी.माथि सम्मका ६ तौल समूहमा प्रतिस्पर्धीको संख्याको टुंगो लागेको हो। वडाध्यक्ष चिनीकाजी महर्जनका अनुसार ७५ के.जी.माथिको समूहमा ६ जना, ७५ के.जी. सम्ममा ५ जना, ७० के.जी. सम्ममा ६ जना, ६५ के.जी. सम्ममा ८ जना, ६० के.जी. सम्ममा ७ जना र ५५ के.जी. सम्ममा ६ जना खेलाडी छन्।
‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहनेछ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष महर्जनले ट्रफी सार्वजनिक गर्दै शारीरिक सुगठन जस्ता खेलकुदले आरोग्य जीवन प्रति नागरिकको आकर्षण बढाउने विश्वास व्यक्त गरे।
विश्व बडी बिल्डिङ फेडेरेसनका अन्तर्राष्ट्रिय निर्णायक एवं संयोजक ईश्वर श्रेष्ठका अनुसार हरेक तौल समूहका शीर्ष तीन विजेतालाई क्रमश: स्वर्ण पदक सहित रु ७५ हजार, रजत पदक सहित रु ५० हजार र कांस्य पदक सहित रु २५ हजार प्रदान गरिनेछ।
तौल समूहका विजेता बीच ओभरअल प्रतिस्पर्धा हुनेछ। फाइनल विजेताले ‘मिस्टर महानगर’ उपाधिसहित नगद रु ५ लाख जित्नेछन्। प्रतियोगिताको अन्त्यमा शारीरिक सुगठन क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मानित गरिने आयोजकले जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्