(एजेन्सी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिचको वार्ता शुक्रबार अमेरिकी राज्य अलास्काको एन्कोरेजमा सम्पन्न भएको छ ।लगभग तीन घण्टा सम्म चलेको यो बैठक सन् २०२१ पछि दुई देशका राष्ट्रपतिहरू बीचको पहिलो आमनेसामने भेटघाट हो ।
एन्कोरेज स्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा वार्ता सम्पन्न गरे पछि दुई राष्ट्रपतिले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकारहरु सँग कुराकानी गर्दै ट्रम्पले भने कि “धेरै वटा बुँदाहरूमा’’ वार्तामा सहमती भएको छ ।उनका अनुसार दुवै पक्षले केही प्रगति हासिल गरेका छन्, यद्यपि कुनै सम्झौता भने भएको छैन् ।
पुटिनले पनि युक्रेनको सुरक्षा सुनिश्चित गरिनु पर्छ भन्ने कुरामा आफु सहमत भएको भन्दै ट्रम्प सँग भएको सम्झौताले युक्रेनमा शान्तिको बाटो खोल्ने उनले बताए ।मञ्चमा १० मिनेट भन्दा बढी समय सम्म छेउछाउमा उभिएर, दुवै नेताहरूले उनीहरूको आमने सामने वार्ताको क्रममा प्रगति भएको संकेत गरे, तर कुनै ठोस सम्झौता भने भएन ।
पुटिनले भने कि वार्ता “पारस्परिक सम्मानको रचनात्मक वातावरण मा भएको थियो र राष्ट्र प्रमुखहरू बीचको व्यक्तिगत भेटघाट लामो समय देखि पर्खिरहेको थियो । “के भइरहेको छ भन्ने सबै कुरा हाम्रो लागि एउटा त्रासदी र भयानक चोट हो,’’ र रूस यसको अन्त्य गर्न इमानदारीपूर्वक इच्छुक छ, पुटिनले भने ।
उनले द्वन्द्वको “प्राथमिक कारणहरू ’’ लाई सम्बोधन गर्न प्रयास गर्नु पर्नेमा जोड दिए र युक्रेन र युरोपेली देशहरूलाई “काममा हतार नगर्न ’’ चेतावनी पनि दिए ।ट्रम्पले वार्तालाई “अत्यन्तै उत्पादक“ भनेर वर्णन गरे र “ठूलो प्रगति’’ भएको बताएक छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूलाई चाँडै फोन गर्ने बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्पका विशेष दूत स्टीव विटकोफ, साथै रूसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभ छलफलका लागि शिखर सम्मेलनमा सामेल भए ।



















आफ्नो प्रतिकृया दिनुहोस्