(एजेन्सी),२५ फागुन,तेहरान । इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा सय्द मोज्तबा खामेनेई नियुक्त भए पछि देशभर उत्सव मनाइएको छ। सरकारी सञ्चार माध्यम प्रेस टिभीका अनुसार दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका दोस्रो छोरा मोज्तबा खामेनेई लाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको हो।
सोमबार उनको नाम सार्वजनिक भएपछि तेहरानसहित विभिन्न शहरमा सयौँ नागरिक सडकमा उत्रिएर नयाँ नेतृत्वको स्वागत गरेका थिए। उनीहरूले उत्सव मनाउँदै मोज्तबा खामेनेईप्रति समर्थन जनाएका छन्। इरानको एक्सपर्ट्स असेंब्ली (Assembly of Experts) ले संविधानको धारा १०८ अनुसार उनलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेताका रूपमा नियुक्त गरेको बताइएको छ।
नयाँ सर्वोच्च नेता चयन भए पछि इरानका विभिन्न राजनीतिक तथा सुरक्षा निकायहरूले पनि समर्थन जनाएका छन्। इरानको रिभोल्युसनरी गार्ड कोर (IRGC) तथा सशस्त्र बलको जनरल स्टाफले मोज्तबा खामेनेईको नेतृत्वलाई पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले देशलाई नयाँ नेतृत्वको पछाडि एकताबद्ध हुन आह्वान गरेका छन्। उनले मोज्तबा खामेनेईको नेतृत्वमा इरानले विकास र स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। इरानी संसदका सभामुखले पनि उनको नियुक्तिलाई “देशका लागि शान्तिदायक निर्णय” भएको प्रतिक्रिया दिएका छन्।
यता नयाँ सर्वोच्च नेता नियुक्त भएको केही समयमै इरानले इजरायल तर्फ दुई चरणमा मिसाइल प्रहार गरेको प्रेस टिभीले जनाएको छ। जेरुसेलम पोस्टका अनुसार ती मिसाइलका टुक्रा मध्य इजरायलमा खस्दा कम्तीमा एक जना घाइते भएका छन्।
पश्चिम एसियामा बढ्दो तनावका बीच यी घटनाक्रम भएका हुन्। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण गर्दा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित केही वरिष्ठ अधिकारी मारिएका थिए। त्यसपछि इरानले कडा प्रतिकार गर्दै विभिन्न अरब देश तर्फ ड्रोन तथा मिसाइल आक्रमण गरेको बताइएको छ।
युद्ध सुरु भएको नौ दिन पुग्दा मानवीय क्षति पनि तीव्र रूपमा बढिरहेको छ। अल जजिराका अनुसार हालसम्म १ हजार ३ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने करिब एक लाख मानिस विस्थापित भएका छन्। सुरक्षा संकटका कारण धेरै नागरिक सुरक्षित स्थानतर्फ पलायन भइरहेका छन्।
संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले प्रभावित क्षेत्रमा राहत र सहयोगको आवश्यकता बढ्दै गएको जनाएको छ। बढ्दो द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा तथा मानवीय संकट अझ गम्भीर बन्ने चिन्ता व्यक्त गरिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्