जनकपुर । मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।शुक्रबार बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई आफ्ना धारणा राख्ने समय दिएका थिए।
प्रमुख प्रतिपक्षी सांसदहरूले २०८२/०८३ को बजेट विपक्षी दलको सहमति बिना बहुमतको आधारमा पारित गरिएको, नाटकीय रूपमा कार्यदल गठन गरी त्यसमा पनि सरकारकै प्रतिनिधि राखिएको भन्दै सरकार अल्पमत/बहुमतको खेलमा मात्र लागेको आरोप लगाए।
उनीहरूले बहुमतको बलमा बजेट पास गर्ने सरकारले अब ऐन कानुन बनाउन विपक्षी दलको सहयोग किन खोजिरहेको हो भनेर प्रश्न उठाए। साथै, बजेटमा देखिएका अनियमितता, बिचौलियाको प्रभाव, रेडबुकमा देखिएको गडबडी जस्ता समस्या समाधान नगरे सम्म र अर्थमन्त्रीले राजीनामा नदिए सम्म बैठक सञ्चालन हुन नदिने चेतावनी दिए।
यसै गरी, पहिला गठन गरिएको संसदीय छानबिन समितिको प्रतिवेदन किन कार्यान्वयन नभएको भनेर सभामुखलाई प्रश्न सोधिएको थियो।लगातारको अवरोधका कारण सभामुख मण्डलले बैठक अर्को सूचना नआए सम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।
करिब एक महिना पछि बसेको यो बैठक बिहीबार पनि जसपा नेपाल सहित प्रमुख प्रतिपक्षी सांसदहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै अवरुद्ध गरेका थिए।



















आफ्नो प्रतिकृया दिनुहोस्