२२ माघ ,जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयताको वास्तविक मर्म भूगोलको विभाजन मात्र नभई अधिकार र अवसरको न्यायोचित वितरण भएको स्पष्ट पार्नु भएको छ। बुधबार जनकपुरधाममा आयोजित मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरदैलोसम्म पुर्याउने मुख्य सेतु नै प्रदेश संरचना भएको धारणा राख्नु भयो। उहाँका अनुसार लोकतन्त्रको वास्तविक सुन्दरता भनेकै नागरिकले आफ्ना प्रतिनिधिहरू मार्फत आफ्ना लागि आफैं कानुन बनाउनु हो, जसले जनतालाई शासन व्यवस्थामा प्रत्यक्ष सहभागी गराउँछ।

विगत आठ वर्षको संसदीय यात्रालाई स्मरण गर्दै प्रदेश प्रमुख लाभले मधेश प्रदेश सभाले विभिन्न चुनौती र उतारचढावका बीच संघीयता कार्यान्वयनमा खेलेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्नु भयो। विशेष गरी प्रदेशको नामाकरण र स्थायी राजधानी चयनजस्ता दूरगामी महत्वका विषयमा प्रदेश सभाले देखाएको सुझबुझ र राजनीतिक सहमति परिपक्वताको एउटा उत्कृष्ट उदाहरण भएको उहाँले उल्लेख गर्नु भयो। उहाँले प्रदेश सभालाई केवल कानुन निर्माण गर्ने थलोको रूपमा मात्र सीमित नराखी आम नागरिकका समस्याहरू समाधान गर्ने प्रभावकारी केन्द्रका रूपमा स्थापित गर्नु पर्नेमा विशेष जोड दिनु भयो।
समृद्ध मधेश निर्माणका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने धारणा राख्दै उहाँले जनप्रतिनिधिहरूलाई जनताले विकास र समृद्धिका लागि मात्रै चुनिएको यथार्थ बुझ्न आग्रह गर्नु भयो। मधेश प्रदेशको स्वाभिमानलाई उच्च राख्दै सम्पूर्ण प्रदेशवासी र जनप्रतिनिधिहरूले अब प्रदेशलाई आर्थिक रूपमा सबल र सामाजिक रूपमा समावेशी बनाउन इमानदार भएर लाग्नुपर्नेमा उहाँको विशेष जोड थियो। सोही विशेष समारोहका बीच मधेश प्रदेश सभाका सांसद राम सरोज यादवलाई उहाँको संसदीय सक्रियताको कदर गर्दै ‘उत्कृष्ट सांसद’ को रूपमा सम्मान समेत गरिएको थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्