२० माघ,जनकपुरधाम । मधेश प्रदेश सभाले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव भव्यताका साथ मनाउने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। आगामी माघ २१ गते बुधबार मनाउन लागिएको यस विशेष समारोहका लागि प्रदेश सभा सचिवालयका सम्पूर्ण कर्मचारीहरू व्यवस्थापनका काममा निकै व्यस्त देखिएका छन्।
तीन दिन सम्म विभिन्न रचनात्मक र सामाजिक कार्यक्रमहरू आयोजना गर्ने लक्ष्यका साथ सुरु भएको यस उत्सवको पहिलो दिन सोमबार प्रदेश सभा परिसरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ।

वार्षिकोत्सवको दोस्रो दिन आज मंगलबार प्रदेश सभाका माननीय सांसदहरू र कर्मचारीहरूबीच आपसी भाइचारा र सम्बन्ध सुधारका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताहरू भइरहेका छन्। प्रदेश सभाले जारी गरेको कार्यतालिका अनुसार आज चेस, ब्याडमिन्टन र म्युजिकल चेयर जस्ता खेलहरूमा सांसद र कर्मचारीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
खेलकुदका अतिरिक्त सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै आजै जनकपुरधाम स्थित मानव सेवा आश्रम, वृद्धा आश्रम र कबिर बाल आश्रमलाई प्रदेश सभाको तर्फबाट आवश्यक सहयोग सामग्रीहरू हस्तान्तरण गर्ने कार्यक्रम समेत राखिएको छ।

वार्षिकोत्सवको मुख्य दिन अर्थात् बुधबारको सुरुवात बिहानको पुण्य कार्य रक्तदानबाट हुनेछ। त्यसपछि दिउँसो १२:३० बजेदेखि मूल समारोहको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ। यस वर्षको वार्षिकोत्सवलाई विगतका वर्ष भन्दा भिन्न र अविष्मरणीय बनाउन मञ्च निर्माणमा विशेष मौलिकता अपनाइएको छ।
मैथिली कला र संस्कृतिलाई झल्काउने उद्देश्यले माटोले लिपेको परम्परागत स्टेज तयार पारिएको छ, जहाँ प्रदेशका विभिन्न स्थानीय भाषा र संस्कृतिको प्रतिनिधित्व हुने गरी सांस्कृतिक प्रस्तुतिहरू देखाइने छ। समारोहको समापनका अवसरमा प्रदेश सभाको कार्यसम्पादनमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीहरू र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई विशेष सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्