इस्लामाबाद,(एजेन्सी) : पाकिस्तानको पञ्जाब प्रान्त हाल दशकमै सबैभन्दा ठूलो बाढीको चपेटामा परेको छ। यस बाढीका कारण १४ लाख ६० हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन्। पाकिस्तानी पत्रिका डन लाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एएनआईले निरन्तर भइरहेको भारी मनसुनले पञ्जाबमा व्यापक क्षति पुर्याइरहेको जनाएको छ।
पञ्जाबको कसुर जिल्ला स्थित गण्डासिंह हेडवर्क्समा शुक्रबार मात्र पानीको बहाव ३ लाख ८५ हजार क्युसेक नाघेर ‘अत्यन्त उच्च’ स्तरमा पुगेको छ। यो पछिल्लो ३० वर्ष यताकै सबैभन्दा ठूलो बाढी मानिएको छ।

बाढीले चुनियाँ तहसीलका नौ गाउँलाई मुख्य सडकसँग सम्पर्क विहीन बनाएको छ। सेना र प्रहरीले स्थानीयलाई सुरक्षित स्थल तर्फ सार्ने उद्धार कार्य सुरु गरिसकेका छन्। पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का महानिर्देशक इरफान अली काठियाले कसुर शहरलाई जोगाउन रहिमयार तटबन्ध जानाजानी फोडिएको स्वीकार गरेका छन्।
यससँगै रावी नदीमा पनि पानीको सतह बढ्दै गएपछि आसपासका दर्जनौं गाउँ उच्च जोखिममा परेका छन्। बाहावलपुर र मुल्तानका उपनगर तथा ग्रामीण बस्तीहरूमा पनि गम्भीर संकट उत्पन्न भएको छ। सतलज र चेनाब नदीको पानी बढ्दै गएपछि बाहावलपुर नजिकैका बस्तीहरू डुबानमा पर्ने सम्भावना बढेको अधिकारीहरूले चेतावनी दिएका छन्।
प्राधिकरणका अनुसार करिब १ हजार ४ सयभन्दा बढी गाउँ तटबन्ध फोडिएका कारण पूर्ण रूपमा डुबानमा परिसकेका छन्। हेड त्रिम्मु नजिक चेनाब नदीको सतह अझै बढ्ने अनुमान गरिएको छ। यसैबीच, संघीय सरकारले दशकमै सबैभन्दा ठूलो उद्धार तथा विस्थापन अभियान प्रारम्भ गरेको छ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (UNOCHA) ले आगामी सेप्टेम्बरको सुरुवातसम्म पनि वर्षा निरन्तर हुने सम्भावना रहेको भन्दै थप बाढी, पहिरो र कृषि बाली नष्ट हुने उच्च जोखिम रहेको चेतावनी दिएको छ।
पाकिस्तान मनसुनजन्य बाढीको दीर्घकालीन जोखिममा पर्ने देश हो। सन् २०२२ मा आएको विनाशकारी बाढीमा १ हजार ७ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ विस्थापित भएका थिए। त्यति बेला भएको क्षति करिब ४० अर्ब अमेरिकी डलर बराबरको अनुमान गरिएको थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्