बेइजिङ,(एजेन्सी): जापानी आक्रमण विरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियान आनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ ।
स्थानिय समय अनुसार बुधबार बिहान ९:०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियान आनमेन स्क्वायरमा जननायकहरूको स्मारक भव्य रूपमा उभिएको छ । सोही स्क्वायरमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ, जसमा सन् १९४५ र २०२५ को प्रतीक स्वरूप १४ वटा दीप-स्तम्भ राखिएका छन् ।

दीप-स्तम्भ माथि शान्तिको प्रतीक १४ परेवा उडाइएको छ । जसले १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नै रगत–मासुबाट बनाएको रुपक ‘महान भित्ताकोट’ लाई जनाउँछ । समारोहमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्ने र सैनिक निरिक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।
चीन फासिवादी आक्रमण विरुद्ध लड्ने पहिलो राष्ट्र थियो र सबैभन्दा लामो समय सम्म प्रतिरोधमा टिक्यो । १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले ३ करोड ५० लाख भन्दा बढी जनधन गुमाए । अपार राष्ट्रिय बलिदान मार्फत चीनले विश्व फासिवाद विरोधी युद्धको पूर्वी मोर्चामा निर्णायक भूमिका खेलेको थियो ।

जापानले सन् १९४५ सेप्टेम्बर २ मा आत्म समर्पणपत्रमा हस्ताक्षर गर्दै चीन सहित सहयोगी राष्ट्रहरू समक्ष हार स्वीकार गरेको थियो । चीनले भोलि पल्ट, सेप्टेम्बर ३ मा विजय दिवस मनाएको थियो। सन् २०१४ मा चीनले सेप्टेम्बर ३ लाई आधिकारिक रूपमा प्रतिरोध युद्धको विजय दिवस घोषणा गर्ने कानून बनाएको छ ।(सीसीटीभी)



















आफ्नो प्रतिकृया दिनुहोस्