काठमाडौं । जेनजीको आधिकारिक वार्ता टोलीले पूर्व-प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार माथि कारबाही गर्नु पर्ने माग अघि सारेको छ।
आइतबार काठमाडौंमा आयोजित वार्ता टोली घोषणा कार्यक्रममा टोलीका सदस्य प्रवेश दाहालले जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरूको सपना पूरा गर्न वर्तमान सरकारले ठोस जिम्मेवारी लिनु पर्ने बताए।
उनले भने, “हाम्रो मुख्य माग तत्कालीन सरकार, विशेषत: केपी ओली नेतृत्वको सरकार माथि कारबाही हुनु पर्छ भन्ने हो। केवल आशावादी भएर बस्ने समय बितिसक्यो, अहिलेको सरकारले यस बारे स्पष्ट कदम चाल्नै पर्छ।”
दाहालले ओली नेतृत्व माथि जेनजीका शहीद र घाइतेहरू प्रति धोका दिएको आरोप लगाउँदै भने, “शहीद र घाइतेको सपनामाथि खेलवाड गर्न खोजिएको छ। त्यो सपना अब पूरा हुनै पर्छ। जनताले परिवर्तन चाहेका छन्, त्यसैले हामी सबै एकताबद्ध हुनु पर्छ।”
उनले समाजमा कुनै पनि व्यक्ति वा समूहलाई खण्डित गर्न नचाहेको स्पष्ट पार्दै नेपाली जनता र जेनजी बीचको एकता अपरिहार्य रहेको धारणा राखे। “हामी कसैलाई खण्ड-विखण्ड गर्न चाहँदैनौं। सबै नेपाली एकजुट हुनु पर्छ, जेनजी पनि एउटै प्लेटफर्ममा आउनु पर्छ। नेपाली जनताले जेनजीलाई सुझाव र सल्लाह दिनु पर्छ,” दाहालले जोड दिदैं भने ।



















आफ्नो प्रतिकृया दिनुहोस्