काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारले सरकार सँग तीन वटा मन्त्रालयको माग गरेका छन् ।बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शहीद परिवार संघर्ष समितिले आफ्ना परिवारको बलिदान बाट बनेको सरकारले नै उपेक्षा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।
समितिले खबरदारीका लागि भए पनि आफ्नो प्रतिनिधित्व क्याबिनेटमा सुनिश्चित हुनु पर्ने दाबी गरेको छ ।शहीद श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले प्रधानमन्त्री सुशीला कार्की देखि विभिन्न जेनजी समूह सम्म कसैले पनि शहीद परिवारलाई चासो नदिएको भन्दै रोष पोखेका छन् ।

उनले पटक–पटक मन्त्रालयहरूमा ज्ञापन-पत्र बुझाउँदा पनि माग सम्बोधन नभएको गुनासो गरे ।त्यस्तै, शहीद परिवारका कमल सुवेदीले वर्तमान सरकारले शहीद परिवारलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा मन्त्रीहरूसँग भेट सम्म गर्न नदिएको आरोप लगाए । उनले आफ्नो परिवारको बलिदानबाट बनेको सरकारले नै सहानुभूति नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
संघर्ष समितिले श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीका दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयको लागि शहीद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा, र युवा तथा खेलकूद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ ।
समितिले सात दिन भित्र माग सम्बोधन नभए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्