१३ चैत,अमेरिका ।जय नेपाल इन्टरनेशनल फाउन्डेसनले बालेन्द्र शाह (बालेन) को को नेतृत्वमा नेपालमा गठन भएको नयाँ सरकारलाई विश्वभर फैलिएका नेपालीहरूको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई देशको विकास र रूपान्तरणमा प्रभावकारी रूपमा उपयोग गर्न आग्रह गरेको छ ।
फाउन्डेसनका अध्यक्ष डा.यादव पण्डित द्वारा जारी विज्ञप्तिमा विदेशमा रहेका नेपालीहरू केवल दर्शक नभई राष्ट्रनिर्माणका सक्रिय साझेदार भएको उल्लेख गरिएको छ । उनीहरूले लगानी, अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय पहुँचमार्फत नेपालको विकासमा निरन्तर योगदान दिँदै आएको भन्दै अबको नेतृत्वले यस सम्भावनालाई संस्थागत रूपमा उपयोग गर्नु पर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा नयाँ सरकारलाई बधाई दिँदै जनताले दिएको म्यान्डेट केवल सरकार परिवर्तनको संकेत मात्र नभई सुशासन, पारदर्शिता र उत्तरदायित्वप्रतिको स्पष्ट अपेक्षा भएको उल्लेख गरिएको छ ।
फाउन्डेसनले बदलिँदो विश्व राजनीतिक परिवेशमा नेपाल ले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । भारत र चीन जस्ता शक्तिशाली राष्ट्रहरूबीच रहेको नेपालले आफ्नो सार्वभौमिकता, गरिमा र राष्ट्रिय हितको संरक्षण गर्दै असंलग्न कूटनीतिलाई सुदृढ बनाउनु पर्नेमा जोड दिइएको छ ।
त्यस्तै, नयाँ पुस्ता ‘जेन जी’ले दिएको सन्देशलाई गम्भीर रूपमा लिन आग्रह गर्दै पारदर्शी शासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सम्मानजनक रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नु पर्ने बताइएको छ ।
फाउन्डेसनले विश्वभर रहेका नेपालीहरूबीच सञ्जाल विस्तार गर्दै ‘ग्लोबल युथ नेटवर्क’, ‘ग्लोबल वुमन नेटवर्क’, ‘ग्लोबल मिडिया नेटवर्क’, ‘ग्लोबल नलेज नेटवर्क’ तथा ‘ग्लोबल स्पोर्ट नेटवर्क’मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । अमेरिका सहित विभिन्न देशमा हालसम्म ३८ वटा च्याप्टर विस्तार भइसकेका छन् ।
मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रजातान्त्रिक मूल्यमा विश्वास राख्ने नेपालीहरूलाई एकताबद्ध गर्दै नेपाल र बसोबास गर्ने देश दुवैको विकासमा योगदान पुर्याउने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको हो ।



















आफ्नो प्रतिकृया दिनुहोस्