१४ चैत,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भए सँगै विभिन्न सरोकारवाला निकायहरूले प्रतिक्रिया दिन थालेका छन्। यसक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघले नवगठित सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
महासंघका महासचिव बद्री प्रसाद चौलागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाह सहित सम्पूर्ण मन्त्रिपरिषद् सदस्यहरूलाई कार्यकाल सफल रहोस् भन्ने कामना गरिएको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए पछि महासंघले औपचारिक रूपमा बधाई दिएको हो।
महासंघले जारी गरेको विज्ञप्तिमा देशको आर्थिक विकास, पूर्वाधार विस्तार तथा यातायात क्षेत्रको सुदृढीकरणका लागि नयाँ सरकारले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ। विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्रका दीर्घकालीन समस्या समाधानमा प्राथमिकता दिने विश्वास महासंघले जनाएको छ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले नयाँ सरकार गठनसँगै यातायात क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। उनले सडक पूर्वाधारको सुधार, ढुवानी व्यवस्थापन सुदृढीकरण, व्यवसायीका समस्या समाधान तथा नीतिगत स्थिरतामा सरकारले ध्यान दिने अपेक्षा रहेको बताए।
नवनियुक्त मन्त्रिपरिषद्मा अर्थ, गृह र परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालयमा नयाँ अनुहार समावेश भएका छन्। रक्षा तथा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले नै सम्हालेका छन्। सरकारले आगामी दिनमा पूर्वाधार विकास, आर्थिक सुधार र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्