काठमाडौं । GEN-Z पुस्ताका युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित सम्पूर्ण आयुक्तहरूको तत्काल राजीनामा माग गरेका छन्।मंगलबार GEN-Z मुभमेन्ट अलायन्सको टोली अख्तियारको टंगाल स्थित कार्यालय पुगेको थियो, जहाँ उनीहरूले प्रमुख र अन्य आयुक्तहरू विरुद्ध निवेदन दर्ता गरेर पत्र बुझाएका हुन्।
अलायन्सले वाइड बडी घोटाला लगायतका भ्रष्टाचार प्रकरणमा राईको संलग्नता रहेको र उनको नेतृत्वमा आयोगको निष्पक्षता गम्भीर प्रश्नमा परेको आरोप लगाएको छ। संसद् नभएको वर्तमान अवस्थामा महाभियोग प्रक्रिया असम्भव भएकाले नैतिक आधारमा राजीनामा दिनु पर्ने उनीहरूको माग छ।

अलायन्सले अन्तरिम सरकारले खुला आवेदन प्रक्रिया मार्फत योग्यता र क्षमता भएका व्यक्तिलाई नयाँ प्रमुख आयुक्तमा नियुक्त गर्नु पर्नेमा जोड दिएको छ। साथै, माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।
यस अघि, अलायन्सले इमेल मार्फत पनि राई लाई दबाब मूलक पत्र पठाएर पद त्याग गर्न आग्रह गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली द्वारा नियुक्त आयुक्तहरूको निष्पक्षता माथि शंका व्यक्त गर्दै GEN-Z पुस्ताले “निष्पक्ष र विश्वसनीय व्यक्तिलाई” नेतृत्वमा ल्याउनु पर्ने आवश्यकता दोहोर्याएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्