काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै गएको र देशभर मौसममा क्रमिक सुधार आउन थालेको छ।
विभागले आइतबार जारी गरेको विज्ञप्तिमा अविरल वर्षाका कारण उत्पन्न आकस्मिक बाढी र डुबानको जोखिम भने अझै यथावत रहेको उल्लेख छ। साथै, विभागले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर ११५५ र एसएमएस सेवा मार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
विभागका अनुसार असोज १७ देखि १९ गते बिहान सम्म अविरल वर्षा हुँदा मधेश र बागमती प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय भागमा मध्यम देखि भारी वर्षा मापन भएको छ। यो अवधिमा रौतहटको महेशपुरमा मात्र २४ घण्टा भित्र ३५८ मि.मि. वर्षा रेकर्ड भएको छ।

देशभरका २९५ वर्षा मापन केन्द्र मध्ये १८६ वटामा वर्षा भएको थियो। तीमध्ये १०५ वटामा ५० मि.मि. भन्दा बढी, ६८ वटामा १०० मि.मि. भन्दा बढी, २१ वटामा २०० मि.मि. भन्दा बढी र ५ वटामा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ।
वर्षा सँगै बागमती, विष्णुमती, कमला, लालबकैया लगायतका नदीमा असोज १८ गते देखि जलसतह खतरा तह पार गरे पनि अहिले घट्दो अवस्थामा पुगेको विभागले जनाएको छ। त्यस्तै, कोशी प्रदेशको सापेक्ष नदीहरू/तमोर, सुनकोशी र अरुण/पनि असोज १९ गते बिहान सम्म खतरा तह पार गरेर अहिले घट्दो अवस्थामा पुगेका छन्।
तर, कोशी नदी चतरा केन्द्रमा बहाव अझै खतरा तहको नजिक रहेकाले बाढी र डुबानको जोखिम कायम रहेको विभागले चेतावनी दिएको छ। विभागले असोज २० गते मध्यान्ह सम्म विशेष सतर्कता अपनाउन सरोकारवाला लाई आग्रह गरेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्