जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपेठामा विगत केही दिन देखि हिन्दू र मुस्लिम समुदायबीच देखिएको विवाद समाधानका लागि सोमबार सर्वपक्षीय बैठक बसेको छ ।जनकपुरधाम स्थित अधिकृत संगमको सभा हलमा सम्पन्न बैठकले विवाद नियन्त्रण र दीर्घकालीन समाधानका लागि विभिन्न निर्णयहरु गरेको हो ।
बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै मेयर मनोज कुमार साहले रुपेठाको मुख्य विवादको केन्द्र बनेको तेलिया पोखरी नेपाल सरकारको सम्पत्ति भएको स्पष्ट पारे । उनका अनुसार, सो पोखरीको स्वामित्व तथा सम्पूर्ण व्यवस्थापन अब जनकपुरधाम उपमहानगरपालिकाले गर्नेछ । उनले थपे, “कुनै पनि समुदायले उक्त पोखरी क्षेत्रमा संरचना निर्माण गर्न पाउने छैन । नगरपालिकाले पोखरीलाई सौन्दर्यकरण गरेर सार्वजनिक प्रयोगमा ल्याउनेछ ।”
यसैगरी, बैठकले हालसम्मको विवादमा संलग्न ढुंगामुढा गर्ने, घरमा आगजनी गर्ने वा सिसाको बोतल प्रहार गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्