सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेश कुमार दास लाई प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका बेला उल्टै दोषी ठहर गर्दै पक्राउ गरिएको आरोप लगाइएको छ । यस घटना प्रति स्थानीयवासी आक्रोशित बनेका छन् ।
प्रहरीका अनुसार वडाध्यक्ष दासले गोडैता प्रहरी चौकी माथि ढुंगामुढा र प्रहरी माथि कुटपिट गराएको प्रारम्भिक अनुसन्धान बाट देखिएको दाबी गरिएको छ । मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट उनलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले बताए ।

प्रहरीले दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ भने कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतमा म्याद थप गर्ने तयारी भइरहेको जनाएको छ । आक्रमणमा संलग्न भएको दाबी गर्दै प्रहरीले चौकी इन्चार्ज सई अवधेश प्रसाद यादवको दाँत भाँचिएको र अन्य पाँच प्रहरी घाइते भएको जानकारी दिएको छ । साथै तीनवटा मोटरसाइकलमा क्षति पुगेको जनाएको छ ।
घटना दुर्गा पूजाका लागि चन्दा उठाउने विषयलाई लिएर सुरु भएको थियो । गोडैता–७ का कारिल यादवलाई रामनगर–५ का अनिल राय यादवले कुटपिट गरेको घटना पछि दुवै पक्ष प्रहरी चौकीमा पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष दासलाई नै प्रहरी प्रमुखले विवाद मिलाउन चौकीमा बोलाएका थिए । तर उनी पुगिसके पछि ढुंगामुढा भएको भिडियो खिचेर उनलाई दोषी देखाउने प्रयास भएको स्थानीयको आरोप छ ।
गोडैता नगरप्रमुख देबेन्द्र यादवले पनि वडाध्यक्ष निर्दोष भएको दाबी गर्दै, “राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको हो” भनेका छन् । उनका अनुसार विवाद मिलाउन पुगेका वडाध्यक्ष माथि दोषारोप गर्नु अन्यायपूर्ण छ ।
वडाध्यक्षको पक्राउ विरुद्ध बुधबार बिहान देखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीयले निष्पक्ष छानबिन र वडाध्यक्षको तत्काल रिहाइको माग गर्दै प्रहरीको एकपक्षीय व्यवहारप्रति आपत्ति जनाएका छन् ।घटना पछि गोडैता प्रहरी चौकीमा थप सुरक्षा व्यवस्था गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्