बाजुरा । बाजुराको पूर्वी–उत्तरी क्षेत्र अन्तर्गत पर्ने बुढिनन्दा नगरपालिकामा स्थानीय युवाहरूले गरेका तालाबन्दी हटाइएको छ। एक हप्ता भित्र माग सुनुवाइ हुने सहमति भए पछि नगरपालिकाको कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको हो।
कोल्टी बजारमा खानेपानी तथा विद्युत सेवा चुस्त बनाउनुपर्ने माग सहित युवाहरूले केही दिन अघि तालाबन्दी गरेका थिए। उनीहरूले तत्काल नियमित खानेपानी आपूर्ति र स्थायी विद्युत व्यवस्थाको व्यवस्था गर्न माग गरेका थिए।
ताला खोल्नु अघि तालाबन्दी गर्ने युवाहरू र नगर उपप्रमुख राम बहादुर बोहरा बीच छलफल भएको थियो। छलफलपछि एक हप्ताभित्र माग सम्बोधन गर्ने सहमति अनुसार तालाबन्दी हटाइएको हो। तर युवाहरूले तोकिएको समयमा माग पूरा नभए पुनः तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
कोल्टीमा दुई दशक अघि निर्माण भएको जुड्डीगार्ड लघु जलविद्युत आयोजनाको नहर पटक–पटक भत्किने र विद्युत आपूर्ति अनियमित हुने समस्या रहँदै आएको छ। जसका कारण स्थानीयलाई मोबाइल चार्ज गर्न समेत सामुदायिक रेडियोमा लाइन बस्नु पर्ने अवस्था छ।
यस्तै, मुहानको अभावका कारण स्थानीयवासी दीर्घकालीन रूपमा खानेपानीको अभाव झेल्दै आएका छन्। तर पछिल्लो समय नगरपालिका खानेपानी र विद्युत दुवैको दीगो व्यवस्थापनमा जिम्मेवार देखिएको छ। विजुलीका लागि केन्द्रीय प्रसारण लाइन जडान अन्तिम चरणमा पुगेको छ भने खानेपानीको दीर्घ समाधानका लागि बृहत योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्