काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरू प्रति लक्षित गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत फैलाइएका समाचार र सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले गम्भीर आपत्ति जनाएको छ।
सचिवालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रचण्ड र उनको परिवारविरुद्ध हालै आएका समाचारहरू ‘तथ्यहीन, पूर्वाग्रही र नियोजित चरित्र हत्या गर्ने प्रयास’ भएको बताउँदै ती सबै आरोपहरू खण्डन गरेको छ।‘देश संकटको संवेदनशील अवस्थामा पार्टी नेतृत्व विरुद्ध नियोजित रूपमा भइरहेका यस्ता गलत र चरित्र हत्या गर्ने गतिविधिप्रति हामी कडा आपत्ति जनाउँछौं,’ विज्ञप्तिमा भनिएको छ।
सचिवालयका अनुसार, ‘जेनजी आन्दोलन’ अघि प्रचण्ड निवासबाट दुईवटा ट्रक मार्फत दुई करोड रुपैयाँ लैजाने, गंगा दाहालको घरमा आठजना सुरक्षाकर्मी खटाइएको, र तिनलाई घरेलु कामदारको रूपमा प्रयोग गरिएको जस्ता दाबीहरू पूर्णत: निराधार र प्रमाण विहीन छन्।
‘हामी यस्ता आरोपहरू सार्वजनिक गर्ने सञ्चारमाध्यमहरूलाई प्रमाण पेस गर्न चुनौती दिन्छौं,’ सचिवालयले भनेको छ।
सचिवालयले अभिव्यक्ति स्वतन्त्रताको नाममा गालीगलौज, चरित्रहत्या र मानहानि गर्न संविधान र पत्रकार आचार संहिताले अनुमति नदिने उल्लेख गर्दै, समाचार प्रकाशन गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण समेट्ने पत्रकारिता आचार संहिताको पालना गर्न आग्रह गरेको छ।
त्यस्तै, यस्ता गलत र भ्रम फैलाउने सामग्रीहरू साइबर कानुन विपरीत हुने भन्दै कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको सचिवालयले जनाएको छ।‘भविष्यमा यस्ता तथ्यहीन र दुराशयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक र प्रसारक पक्षमै रहनेछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ। सचिवालयले आम जनतालाई पनि यस्ता भ्रामक प्रचारप्रसार बाट भ्रमित नहुन आग्रह गरेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्