१५ चैत,(धनुषा) : नेकपा एमाले धनुषाले पार्टी अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको कडा विरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा विरोध पत्र बुझाएको छ। एमालेका जिल्ला पदाधिकारी, नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाइएको उक्त पत्रमा ओलीलाई तत्काल र बिना सर्त रिहा गर्न माग गरिएको छ।
प्रशासन कार्यालय पुग्नुअघि एमाले कार्यकर्ताहरूले सयौँको संख्यामा मोटरसाइकल र्याली निकाल्दै नगर परिक्रमा गरेका थिए। सो क्रममा उनीहरूले वर्तमान सरकार र गृहमन्त्री विरुद्ध चर्को नाराबाजी गर्दै ‘विधिको शासन लागू गर’ र ‘केपी ओलीलाई रिहा गर’ जस्ता नारा लगाएका थिए। शनिबार बिहान केपी ओली र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि एमालेले देशव्यापी रूपमा विरोध प्रदर्शन सुरु गरेको हो।

बुझाइएको विरोध पत्रमा सरकारले कार्की आयोगको प्रतिवेदनलाई बहाना बनाएर राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पूर्व-प्रधानमन्त्रीलाई पक्राउ गरेको आरोप लगाइएको छ। यस्तो कदमले नेपालको संवैधानिक अभ्यास, लोकतन्त्र र विधिको शासनमाथि नै गम्भीर प्रहार गरेको एमाले धनुषाको ठहर छ। पत्रमार्फत उनीहरूले शक्ति दुरुपयोग गर्ने गृहमन्त्रीको बर्खास्ती र गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदन खारेजीको माग समेत गरेका छन्।
यसका साथै, एमालेले जेनजी (Gen Z) आन्दोलनको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने र वास्तविक भ्रष्टाचारीहरूलाई कानुनी दायरामा ल्याउनु पर्ने माग अघि सारेको छ। सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत सो अवसरमा दिइएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्