२३ माघ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा चुनावी अभियानका क्रममा आफ्नो पार्टीको प्रचारमा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको घटना प्रति गहिरो दु:ख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठियाटोलमा घटेको उक्त हृदयविदारक घटनाले सिंगो पार्टीलाई अत्यन्तै स्तब्ध र मर्माहत तुल्याएको उल्लेख गर्नु भएको छ। बिहीबार दिउँसो रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा रहेको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट स्थानीय मोहम्मद सगिरकी छोरी अल्फा खातुनको ज्यान गएको थियो।
यस अकल्पनीय क्षति प्रति शोक व्यक्त गर्दै रास्वपाले पीडित परिवारलाई न्याय दिलाउने कार्यमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ। महामन्त्री बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने र कानुनी प्रक्रिया मार्फत परिवारलाई न्याय दिलाउन पार्टी दृढ रहेको उल्लेख गरिएको छ।
साथै, पीडित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन पार्टीका तर्फ बाट विभिन्न पहलहरू भइरहेको जानकारी समेत गराइएको छ। यो दु:खद घडीमा मृतक बालिका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ।भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन रास्वपाले आफ्नो सम्पूर्ण संयन्त्रलाई कडा निर्देशन समेत दिएको छ।
चुनावी अभियानमा परिचालन गरिने सवारी साधनहरूको सन्दर्भमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई सर्वोच्च प्राथमिकतामा राख्न उम्मेदवार, कार्यकर्ता तथा चालकहरूलाई विशेष आग्रह गरिएको छ। सडक अनुशासन र सुरक्षाका उपायहरूलाई कडाइका साथ पालना गराउन पार्टीले मातहतका सबै निकायलाई सचेत गराएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्