१६ माघ,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी भित्र कुनै मतभेद नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेस एक ढिक्का भएर फागुन २१ गते हुने निर्वाचन तर्फ केन्द्रित भएर अघि बढिरहेको बताएका छन्।
मधेश प्रदेश कार्यसमिति तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूका लागि आयोजित विशेष कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेतृत्वसँग निरन्तर संवाद र समन्वयमा रहेको उल्लेख गरे। उनले निर्वाचनलाई साझा जिम्मेवारीको रूपमा लिएर सबै नेता–कार्यकर्ता एकै दिशामा अघि बढिरहेको बताए।

उनले भने, “म अहिले पनि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सँग निरन्तर संवादमा छु। पार्टीका अन्य वरिष्ठ नेताहरूसँग पनि नियमित छलफल भइरहेको छ। नेपाली कांग्रेस एकताबद्ध रूपमा फागुन २१ गतेको निर्वाचन तर्फ अघि बढिरहेको छ। त्यसैले विगतका कुरालाई लिएर कसैले पनि मनमा कुनै खटास नराख्न आग्रह गर्दछु।”
सभापति थापाले निर्वाचन पछि पनि पार्टीभित्र एकता, सहकार्य र आपसी विश्वास अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीभित्र गुटबन्दी नभएको दाबी गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र पार्टीको हितमा काम गर्नुपर्ने समय आएको बताए।

“हिजोका विषयमा अड्किएर बस्ने सुविधा अब कसैसँग छैन,” उनले भने, “अब नेपाली काङ्ग्रेसले जनताको विश्वास जित्ने गरी संगठन सुदृढीकरण, नीति निर्माण र जिम्मेवार राजनीतिक अभ्यासतर्फ अग्रसर हुनुपर्छ।”
उनको भनाइले निर्वाचनको मुखमा पार्टीभित्र एकताको सन्देश प्रवाह गर्नुका साथै कार्यकर्ता पंक्तिमा उत्साह र विश्वास बढाउने अपेक्षा गरिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्