रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित तीन जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार माधवनारायण नगरपालिका–३, सखुअर्वा स्थित देवी माध्यमिक विद्यालयको भवन निर्माण कार्यका लागि आर्थिक वर्ष २०७७/७८ मा बोलपत्र आह्वान गर्दा सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी प्रक्रिया लुकाइएको र झुट्टा बिल–भरपाईका आधारमा भुक्तानी गरिएको पाइएको छ ।
अख्तियारले गरेको अनुसन्धानमा, रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.लाई झुट्टा विवरण समेत समावेश गरी रु. २ लाख ५७ हजार ९७० रुपैयाँ अनियमित रूपमा भुक्तानी गरिएको पुष्टि भएको हो ।यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, तत्कालीन लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालिका सञ्चालक अजित कुमार कर्णलाई प्रतिवादी बनाइएको छ ।
अख्तियारका अनुसार ती तीनै जनाले मिलेमतो गरी सार्वजनिक सूचना लुकाएर नगरपालिकालाई आर्थिक हानि पुर्याउने उद्देश्यले कार्य गरेका हुन् । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ/ “बोलपत्र आह्वानको सूचना सार्वजनिक वितरणका लागि प्रकाशन नगरी केवल अभिलेखका प्रयोजनका लागि मात्र राखिएको पाइयो।”
प्रेस काउन्सिल नेपालबाट सो मितिको सूचना सम्बन्धी पीडीएफ अभिलेख नै नभएको पुष्टि भएपछि उक्त सूचना प्रकाशित नभएको प्रमाणित भएको अख्तियारले जनाएको छ ।आयोगले उनीहरू विरुद्ध गैरकानूनी लाभ लिएको र सरकारी कोषमा हानी पुर्याएको अभियोगमा विशेष अदालतमा सजाय मागदाबी सहित आरोप-पत्र दायर गरेको हो ।




















आफ्नो प्रतिकृया दिनुहोस्