वीरगंज । वीरगंज महानगरपालिकाको छपकैया स्थित पानी प्रशोधन केन्द्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्दा केन्द्रमा बाख्रा र माछा पालन भइरहेको फेला परेको छ।
शहरबाट निस्किएको फोहोर पानी प्रशोधन गर्नका लागि वीरगंज–१ छपकैयामा निर्माण गरिएको उक्त केन्द्र विगत एक वर्ष देखि बन्द गरी व्यक्तिगत लाभका लागि प्रयोग गरिएको पाइएको हो। महानगरपालिकाको नेतृत्वले ऐन–कानुनलाई बेवास्ता गर्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरका एक अधिकृतका अनुसार, सचेत नागरिकहरूले दिएको उजुरीका आधारमा गरिएको छानबिनमा केन्द्रका चारवटै पोखरीमा माछा पालन र परिसर भित्र बाख्रा पालन भइरहेको पुष्टि भएको हो।
स्थानीयवासीका अनुसार, एशियाली विकास बैंक (ADB) र नेपाल सरकारको सहयोगमा निर्मित उक्त केन्द्र फोहोर पानी प्रशोधनका लागि बनाइएको हो, त्यसमा माछा वा बाख्रा पालन गर्न कानुनले अनुमति दिंदैन। तर, अहिले केन्द्रमा विभिन्न जातका माछा पालिएका छन् र ठूलो सङ्ख्यामा बाख्रा पनि रहेका छन्।
अख्तियारका अधिकारीहरूले आशंका व्यक्त गर्दै भने, “फोहोर पानी प्रशोधन प्रणाली जानाजान बन्द गरी माछा पालन गर्न लगाइएको देखिन्छ।”

उक्त घटना बारे वीरगंज महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले भने, “केन्द्रमा माछा र बाख्रा पालन भएकोबारे कार्यालयलाई कुनै जानकारी छैन।” उनले केन्द्रको सुरक्षाका लागि २४ घण्टा कर्मचारी खटाइएको स्वीकृति दिँदै पनि “कसले र किन यस्तो कार्य गर्यो भन्नेबारे जानकारी नभएको” बताए।
करीब १० बिघा क्षेत्रमा फैलिएको यो पानी प्रशोधन केन्द्रको निर्माणमा करिब १२ करोड रुपैयाँ खर्च भएको थियो। सो रकममध्ये एशियाली विकास बैंक र नेपाल सरकारले ८१ प्रतिशत, नगर विकास कोषले ११ प्रतिशत र वीरगंज महानगरपालिकाले ८ प्रतिशत लगानी गरेका थिए।
अख्तियारले केन्द्रको दुरुपयोगबारे थप अनुसन्धान अघि बढाएको र दोषीहरूलाई कानूनी कारबाहीमा ल्याउने तयारी गरिरहेको जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्