रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै त्यसले गरेका कुनै पनि निर्णय वा कार्य वैधानिक नहुने बताएका छन्। यद्यपि, विशेष राजनीतिक परिस्थितिमा बनेका कारण जनताले अस्थायी रूपमा स्वीकार गरेको पनि उनले उल्लेख गरे।
रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारले चुनाव मिति घोषणा गरे पनि त्यसका लागि आवश्यक तयारी र गृहकार्य पर्याप्त नभएको बताए। उनका अनुसार आगामी पाँच महिनाभित्र चुनावका सम्पूर्ण सामग्री तथा कर्मचारी देशभर पुर्याउने ठूलो चुनौती सरकारसँग छ।

अध्यक्ष ठाकुरले मधेशी जेनजीवादी नेताहरूसँग भेट भएको पुष्टि गर्दै, उनीहरूले चुनावमा सहयोग गर्ने आश्वासन दिएको बताए। “जहाँ हाम्रो उम्मेदवार हुँदैन, त्यहाँ उनीहरूले सहयोग गर्ने कुरा भएको छ,” उनले भने, “मधेशी जेनजीवादीहरूले मधेशका मुद्दाहरू उठाएका छन्, जुन हाम्रो साझा सरोकार हो।”
त्यसै गरी गौरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीयतामाथि कुनै पनि प्रकारको प्रहार सह्य नहुने चेतावनी दिए। “प्रदेश सभा भंग गर्ने हल्ला चलेको छ, यदि त्यस्तो प्रयास भयो भने हामी सडकमा संघर्षमा उत्रिन्छौं,” ठाकुरले चेतावनी दिए।
उनका अनुसार मधेशका अधिकार र संघीयता कसैको कृपाबाट होइन, सयौं सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धि हुन्, जसलाई कुनै हालतमा कमजोर पार्न दिइने छैन।



















आफ्नो प्रतिकृया दिनुहोस्