बेलबारी, १३ असार : सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको संख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जंगलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारी लगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ ।सयौं परिवारको गुजारा निगुरो टिपेरै चलेको छ । राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो ।
बेलबारी–१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगि सक्नु भएको छ । तर उहाँ दैनिक ३० देखि ४० मुठा सम्म निगुरो टिप्दै आउनु भएको छ । निगुरो रु. २५ मा प्रतिमुठा बेच्ने गरेको राई बताउनु हुन्छ । उहाँ जस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिराख्नु भएको छ । भाउन्नेमा विगत २८ वर्ष देखि निगुरोको व्यापार गर्दै आउनु भएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघि सम्म अहिलेको जस्तो निगुरो काठमाडौँ पठाइन्नथ्यो ।
“बजारको खोजीमा इटहरी, दमक, बिर्तामोड सम्म पुर्याउनु पर्थ्यो तर अहिले अरुले टिपेर ल्याएको निगुरो हामीले सङ्कलन गर्छौँ र हामीबाट काठमाडौँका व्यापारीले किनेर लैजान्छन्”, भद्रमाया भन्नु हुन्छ । यस क्षेत्रबाट दैनिक निगुरो राजधानी लगायत अन्य सहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनु हुन्छ ।
वार्षिक झण्डै रु. एक करोड भन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ । मोरङमा एक सय ३४ सामुदायिक वन छन् । पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ । जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णु लाल घिमिरे निगुरो सम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामै राख्न लगाउने बताउनु हुन्छ ।
चैत दोस्रो हप्तादेखि जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिन्छ । तर यो वर्ष निगुरो सुक्खा खडेरीले गर्दा वैशाख सम्म पलाउन सकेको थिएन । कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा. उप्रेती बताउनु हुन्छ । निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियम लगायत पोषकतत्व पाइन्छ । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्