चितवन : मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन (मिटरब्याजी) विरुद्ध परेका उजुरी मध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुन बमोजिम ब्याज सहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा रु. एक करोड ५० लाख र चार स्थानका पाँच वटा कित्ताको जग्गा लेनदेन गरेका थिए ।
उहाँका अनुसार पहिलो तीन महिनामा पीडितले रु. एक करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले छ कठ्ठा १३ दशमलव पाँच धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ । दोस्रो चरणमा पीडकले सहमति भएको छ महिना भित्र बाँकी रहेको रु ३० लाख र कानुन अनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी एक कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।
दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनु पर्ने छ । यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको दुई कठ्ठा जग्गा छलफल मार्फत फिर्ता गराइएको थियो । कार्यालयमा विसं २०८० वैशाख १९ देखि जेठ १४ गते सम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गते सम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए ।
जसमध्ये २१ वटा उजुरीको छलफल मार्फत सहमतिमा टुङ्गो लगाइएको उहाँले जानकारी दिनु भयो । अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन् । परेका उजुरी मध्ये अधिकांश जग्गाको कारोबारका रहेका छन् ।
पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उहाँले बताउनु भयो । अधिकांशले जग्गा फिर्ता गरिदिन निवेदन दिएका छन् ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्