२१ असोज,काठमाडौं: इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख संग्रह ’ कृति प्रकाशनमा ल्याएका छन् । मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुल पति वैरागी काइँला लगायतले विमोचन गरेका हुन् ।
इतिहासकार इङ्नामका अनुसार अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह ’मा नपरेका अभिलेख तथा दस्तावेज यसमा समेटिएका छन् ।‘त्यस हिसाबले यो अभिलेख संग्रह अघिल्लो दस्ताबेज संग्रहको पूरक एवं निरन्तरता पनि हो’, उनले किताबमा लेखेका छन् ।
यस ग्रन्थमा संग्रहित दस्तावेज सेन, शाह र सिक्किमे राजाहरूले पल्लो किरात, लिम्बुवानका लिम्बू, याक्खा, आठ पहरिया लाई राय, राए, राई सम्बोधन गरी प्रदान गरेका लेखकको भनाइ छ ।पूर्व-कुलपति काइँलाले यो किताबले दुई सय–तीन सय वर्ष भित्रका कुराहरूको जानकारी दिने बताए ।
‘हाम्रो राजनीतिक अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थितिहरूको बारेमा यहाँ भएका टिपोट, लालमोहर, रुक्का, सनद, सवाल, कस्यरुक्का, आदि जो छन् तिनले हामीलाई यो बताउँछ’, उनले भने, ‘हाम्रो स्थिति के थियो ? समाज कसरी चल्थ्यो भन्ने कुरा यी यहाँ संग्रहित गरिएका कागज पत्रले हामी बुझ्छौं । हाम्रो सामाजिक चालचलन, हाम्रो सांस्कृतिक थितिहरूको कुराहरू हामी बुझ्छौं ।’
इतिहासकार दिनेश राज पन्तले नेपाल सरकारको उच्च अधिकृत बाट सेवानिवृत्त भए पछि इङ्नामले गरेका कार्य सबै नेपालीका लागि अनुकरणीय भएको बताए । ‘उहाँले जुन इतिहासका किताबहरू लेख्ने, सामग्री संकलन गर्न थाल्नु भयो त्यो कामले लिम्बुवान क्षेत्रलाई मात्र होइन, त्यो किरात क्षेत्रलाई मात्र होइन, पूर्वाञ्चलको क्षेत्र, अहिले कोसी प्रदेश (अहिले यो नाम भएन भनेर झगडा पनि चलि रहेको छ)’, उनले भने, ‘सम्पूर्ण नेपालका लागि चाहिँ एउटा सबैले अनुकरण गर्नु पर्ने काम भएको छ ।’
विश्लेषक बाल कृष्ण माबोहाङले यो कृतिलाई अघिल्लोको निरन्तरता भन्नु पर्ने धारणा व्यक्त गरे । ‘लिम्बू जाति र जनजाति र लिम्बुवानको विषयमा, लिम्बुवानका अन्य जाति र जनजातिहरूको विषयमा पनि जो निरन्तर उहाँले यो अध्ययन अथवा सामग्रीहरू संकलन गर्ने काम गरि रहनु भएको छ । त्यसको एउटा प्रकाशित यो कृति हो’, उनले भने, ‘उहाँले छर पष्ट रूपमा, व्यक्ति–व्यक्तिमा, च्यातिएको अवस्थामा, फ्याँक्न लागेको अवस्थामा, घुन लागेर अथवा डढेर घर–घरमा कतिपयले संकलित गर्दा गर्दै हराएका र संकलित भएर रहेका सामग्रीहरू लाई संकलन गरेर ल्याउनु भएको छ ।’
उनका अनुसार यो कृति पाठक, दशी प्रमाण खोज्नेहरूका लागि महत्वपूर्ण छ । अझ लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामलामा अध्ययन गर्ने शोधकर्ताका लागि साह्रै ठूलो काम भएको उनको भनाइ थियो ।
इङ्नामको अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह ’ले मदन पुरस्कार पाएको थियो । उनले त्यसअघि ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ र ‘लिम्बू जातिको इतिहास’ प्रकाशन गरेका थिए ।




















आफ्नो प्रतिकृया दिनुहोस्