३ जेठ,काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र द्रुत विकासको मार्गमा अगाडि बढाउन एमालेको बहुमत सरकार अपरिहार्य रहेको बताएका छन्।
नेकपा (एमाले) पार्टी कार्यालय च्यासलमा आज आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र अव्यवस्था बाट जोगाउन तथा बिना अवरोध सुशासन कायम राख्न एमालेलाई स्पष्ट बहुमतको आवश्यकता रहेको धारणा राखे।

प्रधानमन्त्री ओलीले भने, “हामीले मुलुकको लागि एमालेको नेतृत्व किन आवश्यक छ भन्ने कुरालाई ढिलो मात्र बुझेका हौँ। अब त्यो भ्रममा बस्न हुँदैन। केही स्वार्थी तत्वहरूले हाम्रा विरुद्ध भ्रम फैलाउने काम गरेका छन्, तर युवाहरूले यस्ता भ्रममा नपरी आगामी निर्वाचनमा एमाले लाई बहुमत दिलाउन अग्रसर हुनु जरुरी छ।”

उनले युवा पुस्तालाई पार्टीमा सक्रिय भएर नेतृत्व तह सम्म पुग्न प्रेरणा दिने क्रममा भने, “म तपाईँहरू लाई आजै पार्टीमा आएर अध्यक्ष बन्नुस् भन्ने चाहन्न। तर आउनुस्, काम र अनुभवका आधारमा अघि बढ्न सकिन्छ। मेसी वा एम्बापे एकैदिन बनेका होइनन्, न त कोही रहरले तुरुन्तै डाक्टर वा इञ्जिनियर नै बन्छ। समय र मेहनतको आवश्यकता हुन्छ, यो वास्तविकता बुझ्न जरुरी छ।”
कार्यक्रममा करिब १०० जना युवा चिकित्सक, इन्जिनियर तथा व्यवसायीहरुले एमाले प्रवेश गरेका थिए। त्यस्तै, स्वदेशमै केही गरौं भन्ने सोच राखेका युवालाई सम्मान पनि गरिएको थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्